विराटनगर । सुनसरीको अलगअलग स्थानमा सवारी दुर्घटना हुँदा एकै दिन ३ जनाको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका र भोक्राहानरसिंह गाउँपालिकामा बिहीबार दुर्घटना भएको हो । दुर्घटनामा परेर ज्यान गुमाउने ३ जना नै पुरुष हुन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरी–१७ मा मोटरसाइकलले ठेलालाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ९०८७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ठेलालाई राति ८ बजेतिर ठक्कर दिएको थियो ।

दुर्घटनामा ठेला चालक इटहरी–१७ का ४५ वर्षीय तेजनारायण साहको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएका साहको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा शुक्रबार बिहानका राति २ बजेतिर मृत्यु भएको हो ।

दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको बेलबारी नगरपालिका–८ का ४५ वर्षीय विक्रम खड्का गम्भीर घाइते भएका छन् । घाइते खड्काको न्युरो अस्पतालमै उपचार भइरहेको छ ।

त्यस्तै दुहवी–इनरुवा सडक खण्डअन्तर्गत इनरुवा–५ मा तत्काल नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । साइकललाई दिउँसो १२ः४५ बजेतिर मोटरसाइकलले ठक्कर दिएको थियो ।

दुर्घटनामा साइकल यात्री सुनसरीकै बराहक्षेत्र नगरपालिका–८ का २७ वर्षीय जीवन राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनालगत्तै मोटरसाइकल लिएर चालक फरार बनेका छन् । फरार रहेका चालक र मोटरसाइकलको खोजी तीव्र पारिएको जानकारी प्रहरीले दिएको छ ।

यसैबीच पूर्व–पश्चिम राजमार्गअन्तर्गत भोक्राहानरसिंह–५ जनता चोकमा कारले ठक्कर दिँदा साइकल यात्री भारतीय नागरिकको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग ३ च ५५७६ नम्बरको कारले ठक्कर दिँदा भारत सुपौलका ३५ वर्षीय गुलाब मेहताको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा बिहीबार दिउँँसो ४ बजेतिर मृत्यु भएको हो । दुर्घटनालगत्तै प्रहरीले कार र चालक रुपन्देहीको सैनामैना–४ का ५४ वर्षीय कृष्णबहादुर रेग्मीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

28
Shares
११ कार्तिक २०७९, शुक्रबार १२:१०