आज तिहारको अन्तिम दिन भाइटीका । आजको दिन दिदीबहिनीले आफ्नो दाजुभाइको सुस्वास्थ्य, दीर्घायु, सुख र समृद्धिको कामना गर्दै सयपत्री, मखमलीको माला र सप्तरङ्गी टीका लगाइदिने गर्छन् ।

दिदीबहिनीले फूलमाला, टीका र आशिर्वाद दिँदा दाजुभाइले पनि माला, टीका र उपहारसहित धन्यवाद व्यक्त गर्दै दिदीबहिनीको सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि र सफलताको कामना गर्ने गर्छन् ।

आफ्नो दिदीबहिनी र दाजुभाइ नहुनेले काठमाडौं रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा गई टीका ग्रहण गर्ने गरेका छन् ।

नेपालमा हुनेले दिदीबहिनी र दाजुभाइको हातबाट फूल, माला र टीका ग्रहण गरी तिहार रमाइलो गरि मनाइ रहँदा वैदेशिक रोजगारी र उच्च शिक्षा हासिल गर्न विदेशिएका नेपालीहरु मन अमिलो बनाउँदै आफ्नो कर्म गर्न बाध्य छन् । केहीले समय मिलाएर साथीभाइसँग भेटघाट गर्दै चाडपर्व मनाउने गरेको भएपनि केहीले घण्टौं काम गर्नुपर्ने बाध्यता छ ।

नेपालभन्दा टाढा रहेका नेपालीसँगको कुराकानीका आधारमा एएमजी टाइम्सले तयार पारेको तिहार विशेष सामग्रीः

राम राजवंशी
मलेसिया

६ वर्षदेखि मलेसियमा कार्यरत राम राजवंशीलाई दसैँतिहार आयो कि मन अमिलो हुन्छ । मलेसिया मुस्लिम राष्ट्र भएकाले सोही अनुसारका पर्वमा मात्रै सार्वजनिक बिदा दिने गरिन्छ । उल्लेखनीय संख्यामा नेपाली कामदार भएपनि दसैँ तिहारमा सार्वजनिक बिदा हुँदैन । यता घरपरिवार, साथीभाइ, घरगाउँ र सारा नेपाल चाडपर्वका रमझममा रमाइ रहँदा आफूले डियुटीमा समय बिताउनु पर्दा उनलाई नमज्जा लाग्छ ।

‘सम्झिदा नरमाइलो लाग्छ तर विदेशमा भएपछि यस्तै हो’ मन अमिलो पार्दै राजवंशीले भने, ‘यता त पुराना दिन सम्झिने अनि चाडबाडको बेला त्यहीँ याद गर्दै बस्ने मात्र हो ।’

तिहारको समयमा साथीभाइसँग देउसी भैलो खेलेको, पटका पड्काएको, कौडा खेलेको, हुकाहुकी गरेको उनलाई याद आउँछ । दिदीको हातबाट टीका ग्रहण गर्न निकै टाढासम्म यात्रा गरेको उनको दिमागमा अझै ताजा छ ।

‘दिदीको घर ३५ किलोमिटर टाढा छ, म त्यहाँसम्म साइकल कुदाएर जान्थे’ विगतका तिहार सम्झँदै उनले भने, ‘अहिले त ३५ किलोमिटर मात्रै होइन, सात समुद्र पारी अर्कै देशमा छु । भाइटीका दिन पनि ड्युटी गर्दैछु ।’

दसैँ तिहारमा छुट्टी नपाए पनि भविष्य सम्झिएर उनी मलेसियामा मेहनत गरिरहेका छन् ।

राम राजवंशी

प्रकाश मैनाली
दुबई

एक दशक बढी भयो प्रकाश मैनालीले देश छाडेर परदेशी भएको । हाल दुबईमा कार्यरत उनले नेपाली चाडपर्व मनाउन नपाएको पनि दशक हुनै लाग्यो । समय मिलाएर छुट्टीमा घर आए पनि स–परिवार सँगै चाडपर्व भने उनले मनाउन नपाएको धेरै भयो ।

चाडपर्व मनाउन नपाएको दुखेसो उनले एएमजी टाइम्ससँग यसरी पोखे, ‘यता छुट्टी मिलाएर गएको बेला चाडपर्वको समय पर्दैन त्यसैले मनाउन नपाएको धेरै भयो ।’

परदेशमा रहने नेपाली कामदारलाई चाडपर्वभन्दा पनि काम मात्रै प्यारो हुने गरेको उनको अनुभव छ । प्राकृतिक रुपमा सुन्दर आफ्नै देशमा काम गर्दै चाडपर्व परिवारसँगै मनाउन उनलाई पनि खुब रहर छ ।

‘नेपालमै कमाएर बसौं, परिवारसँग चाडपर्व मनाउन त रहर छ नि तर अब अवस्था यस्तै छ’ उनले भने, ‘अब साथीभाइसँग फेरी देउसी भैलो खेल्दै रमाइलो कहिले गर्न पाइएला भनेर सोच्छु ? गाह्रो छ भनेर आफ्नो चित्त बुझाउने गरेको छु ।’

दुबईमा चिनजानको दिदीसँग भाइटीकाका दिन टीका ग्रहण गर्ने भएपनि समय मिलेका वर्षमा मात्रै जाने गरेको उनले बताए ।

पूजा विश्वकर्मा
साउदी अरब

साउदी अरबमा कार्यरत पूजाले विदेशी भूमिलाई कर्मथला बनाएको यो दोस्रो वर्ष हो । कोभिड महामारीपछि विदेशिएकी उनलाई तिहारको बेला घरगाउँ, भाइटीका र देउसीभैलोको याद आउँछ ।

‘नेपाल हुँदा आजको दिन दाइभाइलाई टीका लगाएर सबै परिवार रमाइलो गरिरहेका हुन्थ्यौँ’ विगतका तिहार सम्झँदै उनले भनिन्, ‘दुई वर्ष भयो तिहार मोबाइलबाट मनाएको । चित्त दुख्छ तर के गर्नु यस्तै छ भनेर मन बुझाउँछु ।’

घरगाउँ, झिलिमिली बत्ती, देउसी भैलो र साँस्कृतिक कार्यक्रमको खुब याद आउने गरेको भएपनि नेपालबाट टाढा रहेकाले मन बुझाउने गरेको उनले सुनाइन् ।

प्रमेश राजवंशी
पोर्चुगल

यहीँ वर्षको जेठमा पोर्चुगल पुगेका राजवंशीका लागि परिवारसँग टाढिएको यो नै पहिलो वर्ष हो । अरु समयमा खासै दुःख नलाग्ने भएपनि चाडबाडको बेला आफू बाहिर हुँदा मन खिन्न हुने उनी बताउँछन् ।
‘अरु बेला यताको छुट्टै तनाव हुन्छ, चाडपर्वको बेला घरपरिवार, साथीभाइको यादले सताउँछ’ एएमजी टाइम्ससँग उनले भने, ‘घरगाउँमा हुनेले यतिबेला कति रमाइलो गर्दै होलान् सम्झेर मन नै कँुडिन्छ । तर के गर्नु तिहारको भाइटीकाको दिन पनि यता १४ घण्टा काम गरिरहेको छु ।’
हुकाकुही, पट्का, देउसीभैलो खेलेको र दिदीबहिनीको हातबाट फूलमाला, टीका ग्रहण गरेको सम्झँदा नरमाइलो लागि रहेको उनले बताए ।

प्रमेश राजवंशी

सुदीप कुमार
मलेसिया

सुदीप मलेसियास्थित पन्जा फ्याक्ट्रीमा काम गर्छन् । नौ वर्षअघि मलेसिया पुगेका उनी बीचमा एक पटक नेपाल आएका छन् । त्यसयता मलेसियामा पाँच वर्ष बिताएका उनलाई तिहारमा आफ्नोपनको कमी हुन्छ । चाडपर्व मनाउन कम्पनीका सबै नेपाली एकै ठाउँमा भेला हुने भएपनि उनलाई आफ्नो गाउँघर, परिवारसँग मनाउनु जस्तो मज्जा लाग्दैन ।

तिहारमा दिदीबहिनी, घरपरिवार, साथीभाइ र रमाइलो याद आउने भएपनि विदेशी भूमिमा त्यो सम्झँदै बस्नुको विकल्प नहुने उनले बताए ।

‘खानेकुरा, घुम्ने ठाउँ, पैसा सबै छ यता । चाडपर्वको बेला सबै नेपाली भेला पनि हुन्छौँ’ उनले भने, ‘तर आफ्नोपनको अभाव छ । त्यो बिना सबै बेस्वाद हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु