काठमाडाैं । तिहारकाे अन्तिम दिन आज भाइटीका ।

तिहारकाे मुख्य दिन मानिने भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु, सुख र समृद्धिको कामना गर्दै सप्तरङ्गी लगाइदिने गरिन्छ ।

आजकाे दिन रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा टीका ग्रहण गर्नेकाे भीड उल्लेखनीय हुने गर्छ ।

आफ्नाे दाजुभाइ तथा दिदीबहिनीहरु नहुनेहरूले मन्दिरमा टीका ग्रहण गरेका छन ।

आज बिहानै देखी रानीपोखरीमा टीका लगाउनेहरु भीड बढेको छ । भाइटिकाको दिनमा मात्रै खुला गरिने यो मन्दिरमा दर्शनार्थीको भीड बढने क्रम जारी छ ।

आजकाे दिनलाई मौसमले पनि साथ दिएको छ । बिहानैदेखि लागेकाे पारिलाे घामले दिन घमाइलाे बनाइरहेकाे छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसवर्षको भाइटीकाको शुभ साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको भए पनि दिनभर जुनै समयमा पनि टीका ग्रहण गर्न सकिने बताएको छ ।

सर्वसाधारणले आफ्नो समय अनुकुल हुने गरी टीका लगाउन सक्ने बताइएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ ।

यस वर्ष कात्तिक ६ गतेदेखि यमपञ्चक सुरु भएको हो । कात्तिक ६ गते आइतबार कागतिहार, कात्तिक ७ गते सोमबार कुकुरतिहार र लक्ष्मीपूजा, कात्तिक ८ गते मंगलबार गाईपूजा, कात्तिक ९ गते बुधबार गोवर्द्धन पूजा र म्हपूजा, र कात्तिक १० गते भाइटीका परेको छ ।

तस्बिरहरू

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु