काठमाडौं । बंगलादेशले नेपालसँग ५० मेगावाट बिजुली किन्ने भएको छ । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले त्यहाँकी प्रधानमन्त्री शेख हसिनासँग गरेको शिष्टाचार भेटवार्तामा यसबारे कुरा भएको हो ।

सन् २०४० सम्म बंगलादेशले नौ हजार मेगावाट बिजुली खरिद गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ । बंगलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर) ले निर्माण गर्ने माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट पाँच सय मेगावाट बिजुली लैजाने सहमति गरेको छ ।

भेटमा शिक्षा, पर्यटन, ऊर्जा, व्यापार र पारवहनलगायतका विषयमा कुराकानी भएको बंगलादेशमा रहेको नेपाली दूतावासले जनाएको छ ।

त्यस अवसरमा राजदूत भण्डारीले पछिल्लो ५० वर्षमा सरकारी र दुई देशका जनताबीचको सम्बन्ध निरन्तर समृद्ध हुँदै गएको, एक अर्का देशबीचको सहकार्यका साथै असल छिमेकीको सम्बन्ध रहेको बताएका थिए ।

प्रधानमन्त्री हसिनाले नेपालको राजनीतिक र नागरिक समाजले बंगलादेशको स्वतन्त्रताका सङ्ग्राममा गरेको सहयोगको स्मरण गर्दै दुई देशबीचको द्विपक्षीय सम्बन्ध उत्कृष्ट रहेको बताएकी थिइन् ।

उनले दुई देशबीचको व्यापार, ऊर्जा, पर्यटन र जलवायु परिवर्तनका क्षेत्रमा रहेको सम्भावना र साझा सहकार्यका सम्बन्धमा चर्चा गरेकी थिइन् ।

राजदूत भण्डारीले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेको बंगलादेशस्थित नेपाली राजदूतावासले मंगलबार विज्ञप्ति जारी गर्दै जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु