काठमाडौं । राजनीतिक दलका शीर्ष नेताहरुमाथि लाञ्छनायुक्त अभिव्यक्ति राखिएको फेसबुक पेज र ग्रुप तत्काल बन्द गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।
‘नो नट अगेन’ नाममा बनेका विभिन्न फेसबुक ग्रुपमा नेतामाथि लाञ्छना गरिएको भन्दै आयोगले यस्ता पेज र ग्रुप तत्काल हटाउन आग्रह गरेको हो ।
मंसिरमा ४ मा हुने चुनावका लागि उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा यस्ता ग्रुपमार्फत गरिएको लाञ्छनायुक्त अभिव्यक्ति, भ्रामक र द्वेषपूर्ण श्रव्य दृश्य सामग्री विद्युतीय कारोबार ऐनको दफा ४७, निर्वाचन कसूर तथा सजाय ऐन २०७३ को दफा २३ अनुसार कसूर मानिने आयोगले जनाएको छ ।
त्यस्तै यस्ता गतिविधि निर्वाचन आचारसंहिताविपरीत हुने पनि आयोगको भनाइ छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा यस्तो कसूर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुने जनाइएको छ।
आयोगले यस्ता पेज र ग्रुप तत्काल हटाइ अबदेखि यस्ता गतिविधि नगर्न पनि आग्रह गरेको छ ।