पोखरा । डेंगु संक्रमणबाट बिरामी भएकी नेकपा (एमाले) की नेतृ एवं कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्या भट्टराई उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

उनी एक सातासम्म अस्पतालमै रहेर उपचारपछि घर फर्केकी छन् । निर्वाचनका बेला त्यस समयमा मतदाता, शुभेच्छुकहरुसँग भेटघाट हुन नसकेको भन्दै उनले अब केही दिनको आरामपछि सक्रिय रहने जनाएकी छन् ।

उनले डिस्चार्जपछि सन्देश जारी गर्दै भनेकी छन्–

आदरणीय आमा बुबा, दिदिबहिनी, तथा दाजुभाइ एवं सम्पूर्ण शुभेच्छुकज्य्ूहरुप्रति हार्दिक नमस्कार ।

यो समय ठूला चाड पर्वहरू चलिरहेका छन् । चाडसँगै मुलुक आम चुनावमा होमिएको बेला छ । चुनावी सरगर्मी चुलिँदो छ । जनतासँगै रहनुपर्ने बेला डेंगुबाट संक्रमित भएर हप्ता दिन अस्पतालमा उपचारमा रहनुपर्यो । शरीरमा शिथिलता छ । यतिबेला शरीर पुरै थकित छ ।

कात्तिक १ गते बिहान नेकपा एमाले चुनाव प्रचार प्रसार समिति पोखरा १७ विरौटा, र पोखरा ८ सिर्जनाचोक कार्यालय उद्घाटन कार्यक्रम समापनलगत्तै शारीरिक असहजता महसुस भयो ।

डाक्टरसँग जाने निधो गर्दैगर्दा बिहान ११ बजिसकेको थियो । डा. सिपि आचार्य सगको परामर्शमा डेंगी संक्रमण पुष्टिलगत्तै ॐ अस्पतालमा भर्ना भएँ । शरीरभित्र संक्रमणको दर उच्च बढ्दै जाँदा, उच्च ज्वरो, निरन्तर वाकवाकी र थप जटिलता देखिएपछि सोहि दिन साँझ डा. आचार्यकै सिफारिस र परामर्शमा रहने गरी मणिपाल शिक्षण अस्पतालको सीसीयु कक्षमा राखेर उपचारको प्रक्रिया अगाडि बढ्यो ।

एक हप्ताको अस्पतालको बसाइपछि आज मालेपाटन घर आइपुगेकी छु । स्वास्थ्यमा अहिले धेरै सुधार भएको छ । तर संक्रमणसँगै रगतमा देखिने फेरबदल र त्यसको असर डब्लुबीसीको लेबल अझै पनि कम रहेको कारण, डाक्टरका अनुसार तत्काल भेटघाट तथा सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसक्ने ब्यहोरा जानकारी गराउनु पर्दा म दुःखी छु । केही दिन घरमा आराम गरेपछि हजुरहरुसँग भेट हुने विश्वास दिलाउन चाहन्छु ।

मेरो उपचारको क्रममा अहोरात्र सहयोग पुर्याउनु हुने डा. आचार्य र उहाँको सम्पूर्ण टिम र सबै स्वास्थ्यकर्मी र मणिपाल शिक्षण अस्पताल प्ररिवारप्रति कृतज्ञ छु । उहाँहरु प्रती हृदय देखिनै धन्यवाद व्यक्त गर्दछु ।

यसै क्रममा सद्भाव साथ स्वास्थ्यलाभको कामनासहित धेरै माया र हौसला लिएर प्रत्यक्ष भेट्न आउनु हुने, पार्टीका नेता तथा कार्यकर्ताहरु, आफन्तजनहरु साथै सामाजिक सञ्जालमार्फत स्वास्थ लाभको कामना गर्नुहुने आदरणीय पार्टी अध्यक्ष लगायत सम्पुर्ण सुभेच्छुक ज्युहरु, फोन, एसएमएसबाट र परोक्ष सद्भाव राख्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु।

अन्त्यमा,

यहाँहरुको सद्भाव शुभेच्छासँगै, छिट्टै पूर्ण निको भएर, हिँड्न सक्ने बनेर, चुनावको यो सरगर्मीसँगै आफ्ना प्रतिबद्धता लिएर कास्की निर्वाचन क्षेत्र नम्बर २ का जनताको घर आँगनमा हुने कार्यक्रमहरूमा सहभागी हुनेछु ।

नेपालीहरुको महान चाड तिहार, नेपाल सम्बत् र छठको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

सबैमा हार्दिक आभार सहित धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु