काठमाडौं। फ्रान्सको मार्सेल्लीमा आयोजना हुने मोटर स्पोर्ट गेम्समा नेपाली टोलीले पनि सहभागिता जनाउने भएको छ । त्यसका लागि सोमवार ६ सदस्यीय नेपाली टोली फ्रान्स प्रस्थान गरेको छ।
फेडेरेसन इन्टरनेश्नल डे अटोमोबाइल (एफआइए) द्वारा आयोजना हुने मोटर स्पोर्ट गेम्समा सहभागी हुने खेलाडी तथा अफिसियललाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी सदस्य यकेन्द्र कुँवरलगायतले विदाइ गरेका थिए।
विदाइमा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत चतुरानन्द राज वैद्य, एफआईए वल्ड काउन्सिल सदस्य गोविन्द भट्टटराई, नेपालका लागि डेनमार्कका कन्सुलर हरि धरेल, नासा नेपालका अध्यक्ष दशरथ रिजाललगायत पनि सहभागी थिए।
नेपालका तर्फबाट अनिल बरालले पुरुष अटो स्लेलम, जिस्वा तुलाधर श्रेष्ठले महिला अटो स्लेलम र दिप्रश शाक्यले कार्टिङ स्प्रिन्टको सिनियर विधामा सहभागिता जनाउनेछन्।
कार्टिङ स्प्रिन्टमा सहभागिता जनाउन लागेका दिप्रश शाक्यले प्रतियोगिता विश्वकप स्तरको भएको र ओलम्पिक संरचनामा खेलाइने बताए। शाक्यले विश्वस्तरको प्रतियोगितामा देशको प्रनिधित्व गर्नु पाउनु आफ्नो लागि ठूलो मौका भएको बताए।
अटोल स्लेलममा नेपालको तर्फबाट महिला र पुरुष विधामा सहभागिता जनाउन लागेका अनिल बराल र जिस्वा तुलाधर श्रेष्ठले प्रतिस्पर्धामा राम्रो प्रदर्शन गर्ने बताए। ९० देशले सहभागिता जनाउने प्रतियोगितामा नेपालको पनि झण्डा फहराउने अवसर भएको भन्दै उत्कृष्ट नतिजाका लागि प्रतिस्पर्धा गर्ने अटो स्लेलमका प्रतिस्पर्धीले बताए।
ओलम्पिक फरम्याटमा हुने यो नै एफआईएको एक मात्र प्रतियोगिता हो। संसारमा अत्यन्त लोकप्रिय रहेको मोटर स्पोर्टस नेपालमा डेढ दशक अघिबाट नासा नेपालको नामबाट आधिकारिक रुपमा शुरुवात भएको हो।
प्रतियोगितामा १७ भन्दा बढी विधामा विश्वभरका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता अक्टोबर २६ देखि ३० गतेसम्म चल्ने छ । नेपालले एफआईएको विश्वस्तरीय प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउन लागेको हो ।