विराटनगर । हिन्दु जागरण नेपाल युवा समितिले विराटनगरमा जनावरसम्बन्धी सन्देशमूलक कार्यक्रम आयोजना गर्दै कुकुर तिहार मनाएको छ ।

तिथिअनुसार एकै दिन परेको कुकुर र गाई तिहारको अवसरमा आयोजित उक्त कार्यक्रममार्फत कुकुर र गाईविरुद्धको हिंसा बन्द गरौं भन्ने शिक्षा प्रदान गरिएको आयोजक समितिका मोरंग संयोजक एलिना प्रसाईले बताइन् ।

तिहारमा कुकुर र गाईलाई पूजा गरिने तर अरु बेला बेवास्ता गर्ने प्रवृत्तिलाई हटाइ घरमा पालेका बाहेकका बेवारिसे जनावरलाई पनि माया गरौं भने सन्देश कार्यक्रममार्फत दिइएको छ ।

कार्यक्रममा विभिन्न संस्था, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधि उपस्थित भएका थिए । बिहान सात बजे सुरू भएको कार्यक्रममा ७० बढी कुकुरलाई खाना र टीका लगाई दिइएको छ ।

‘घरपालुवा र बेवारिसे गरी ७० बढी कुकुरलाई आज हामीले खाना र टीका लगाई दिएका छौँ’ संयोजक प्रसाईले भनिन्, ‘सम्भव भएजति गाईलाई पनि खाना दिएर टीका लगाई दियौँ ।’

प्रसाई नेतृत्वको एलिनाज एनिमल्स हेभन संस्थाले तीन वर्षयता विराटनगर र आसपासको क्षेत्रका बेवारिसे कुकुरलाई उद्दार र संरक्षण गर्दै आइरहेको छ ।

आजको कार्यक्रममा हराएको कुकुर र कुकर धनीबीच पुनर्मिलन समेत भएको छ । संस्थाले सडकबाट उद्दार गरी संरक्षण गर्दै आइरहेको एक कुकुरलाई मालिकले फिर्ता लगेका छन् ।

कुकुर तिहार २

‘यस्तो देख्दा खुशी लाग्छ । मान्छेले सडकमा भएका कुकुरलाई दुर्व्यवहार गर्ने गर्छन् । हराएमा बेवास्ता गर्ने गरेको उदाहरण पनि धेरै छन्’ पुनर्मिलनबारे उनले थप भनिन्, ‘कार्यक्रम आउँदा वहाँले आफ्नो कुकुर चिन्नु भयो र फिर्ता लग्नु भयो । यस्ता व्यवहार देख्दा आनन्दित हुन्छौँ । आजको कार्यक्रम र हाम्रो संस्थाको मुख्य उद्देश्य जनावरलाई माया गर्नु पर्छ भन्ने हो ।’

सके आफूले संरक्षण गरौं, नसके दुर्व्यवहार नगरौं भन्ने भावना मानिसप्रति जागृत गराउन कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।

कार्यक्रममा उपस्थित भएका संघसंस्थाका प्रतिनिधि र विराटनगर ९ का वडाध्यक्ष विश्वनाथ प्रसाद भगतले प्रसाई नेतृत्वको संस्था र त्यसले गर्ने कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा गुर्खा के नाइन केनल्स, एलिनाज एनिमल्स हेभन र रोनक फेसन एजेन्सीकाे विशेष सहयोग रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु