शेखर कोइराला र लालबाबु पण्डित ।
विराटनगर । मोरङको क्षेत्र नम्बर ६ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको निर्वाचन क्षेत्र हो । नेपाली राजनीतिमा कोइराला परिवारको महत्वपूर्ण योगदान छ । त्यही परिवारभित्रका सदस्य डा. शेखरले चुनावका लागि पटक-पटक यही निर्वाचन क्षेत्र प्रयोग गरे । कहिले जिते, त कहिले हारे । चुनावी मैदानमा उत्रँदा विजय र पराजय दुवैको अनुभव उनीसँग छ ।
फेरि पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्दैछन् । मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार बनेका शेखरका प्रतिस्पर्धी हुन्, नेकपा (एमाले) का स्थायी कमिटी सदस्य लालबाबु पण्डित । २०७४ सालको निर्वाचनमा लालबाबुसँग शेखर पराजित बनेका थिए ।
यसपटकको नतिजा भने आगामी निर्वाचनपछि मात्रै थाहा हुने छ । यद्यपि पुराना प्रतिस्पर्धी दुवैजना निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न जोडतोडका साथ लागेका छन् । विभिन्न आश्वासन दिँदै मतदातालाई आफ्नो पक्षमा पार्ने अभियानमा सक्रिय छन् ।
गज्जबको कुरा त के छ भने दुवै जनाले आफ्नो निर्वाचन क्षेत्रभित्रको जामुनगाछीलाई वास्ता गरेका छैनन् । विराटनगर महानगरपालिका-४ र ५ को सिमा नामा पर्ने जामुनगाछीले १ वर्ष अघिदेखि सार्वजनिक रूपमा पोखिरहेको पीडा उनीहरुले सुनेका छैनन् । स्थानीय आक्रोसित हुँदासमेत देखेर पनि नदेखेजस्तो गरिरहेका छन् ।
मुलुक यतिबेला निर्वाचनमय बनेको छ । नजिकिँदो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनले माहोल गर्माएको छ । जबकि शेखर र लालबाबुलाई चुनाव जित्नका लागि त्यही जामुनगाछीको मत निर्णायक मानिन्छ । निर्णायक मत रहेको स्थान आन्दोलित हुँदा पनि दुवै जनालाई मतलव छैन ।
देखिँदा जामुनगाछी मात्रै आन्दोलित भएको देखिए पनि कोसी राजमार्ग पश्चिमको क्षेत्रलाई विकास निर्माणबाट पछाडि पारिएको भन्दै स्थानीयले राजनीतिक दलका नेतालाई ‘विकासविरोधी’ घोषित गरेर बहिष्कार अभियान चलाइरहेका छन् । सडकमा निस्किएर असन्तुष्टि पोखिरहेका छन् । अन्यत्रको जस्तै समान विकास हुनुपर्ने माग राखेर २०७८ कात्तिकदेखि आन्दोलन जारी छ ।
आफ्ना क्षेत्रका जनताले सडक संघर्ष गर्दा पनि नेताले बेवास्ता गर्नु र आन्दोलनलाई सामान्य ठान्नु गम्भीर विषय भएको पूर्वशिक्षक केशव अधिकारी बताउँछन् । ‘यहाँका मतदाताको मतको बलमा नेताहरुले पटक-पटक चुनाव जिते । ठाउँमा पुगे । तर आफ्नै क्षेत्रलाई बेवास्ता गरे,’ उनी भन्छन्, ‘जसका कारण राजमार्ग पश्चिम विकासबाट सधैँ पछाडि पर्यो । नेताविरुद्ध आन्दोलन उठ्नु त्यसकै परिणाम हो । आफैँ बहिष्कारमा पर्दासमेत आन्दोलनलाई वास्ता नगर्दा नेताहरु व्यक्तिगत स्वार्थ पूर्तिका लागि मात्रै राजनीति गर्दा रहेछन् भन्ने प्रष्ट भयो ।’
अधिकारीका भनाइमा आफैँलाई मत दिएर विजयी गराउने जनताको आवाज नसन्नु नेताहरुको कमजोरी र बदमासी हो । ‘नेताहरु उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धामा छन् । तर उनीहरुलाई जामुनगाछीले पोखिरहेको पीडा र उठाइरहेको आवाजले छुन नसक्नु दुःखद् हो,’ उनी भन्छन्, ‘चुनाव लड्ने क्षेत्रमा कुनै समस्या आउँदा तत्काल समाधान गरेर आफ्नो पक्षमा माहोल बनाउनुपर्छ भन्ने चेत पनि नेताहरुमा रहेनछ । विकासको आशमा त्यस्तालाई चुनाव जिताउनु बेकार छ ।’
शेखरले पटक-पटक चुनाव जितेर पनि आफ्नो क्षेत्रको विकासमा चासो नदिएको गुनासो स्थानीयको छ । २०७४ सालको निर्वाचनको नतिजा शेखरको पक्षमा नपर्नुलाई त्यसकै परिणामका रूपमा पनि लिने गरिएको छ । यद्यपि राष्ट्रिय राजनीतिमा बढ्दो लोकप्रियता र एमाले-माओवादी गठबन्धनका कारण पनि अघिल्लो निर्वाचनमा लालबाबु हाबी हुँदा कोइराला परिवारको पुरानो शाखलाई शेखरले जोगाउन सकेनन् ।
अहिले भने लालबाबुसँग स्थानीय झन् रुष्ट छन् । जबकि शेखरलाई ‘सबक सिकाउन’ उनीहरुले त्यतिबेला लालबाबुलाई साथ दिएका थिए । लालबाबु चुनाव जितेर सांसद बने । मन्त्री पनि भए । तर उनले पनि शेखरजस्तै आफ्नो क्षेत्रको विकास निर्माणलाई वास्ता नगरेको जनगुनासो छ ।
‘हाम्रो क्षेत्रलाई शेखरले मात्रै हैन, लालबाबुले पनि वास्ता गरेनन् । वास्ता गरेको भए विकास निर्माणका खाका लिएर मतदाता समक्ष आउने थिए । आफूले गरेका कामको फेहरिस्त देखाउँदै मेरा पालामा यस्तो विकास भयो भनेर जनतालाई प्रष्ट पार्थे,’ स्थानीय राकेश गौतम भन्छन्, ‘आन्दोलनलाई मत्थर बनाउन तथा स्थानीयको मागको सम्बोधन गर्न कुनै योजना र कार्यक्रमसमेत लिएर आउनसक्ने हिम्मत शेखर र लालबाबु लगायतका नेतामा देखिएन । आन्दोलन सुरु भएको १ वर्ष पूरा भइसक्दा पनि समस्या समाधान गर्ने खालको भूमिका उनीहरुले खेल्न सकेनन् ।’
उल्टै आन्दोलनलाई नजरअन्दाज गरेर ‘चुपचाप’ बसिरहेको उनी बताउँछन् । ‘जनताको साथ लिएर चुनावमा जानुपर्छ भन्ने कुरा दुवैले बुझेको हुनुपर्ने हो । तर माग र समस्यामा चासो दिँदैनन् । वास्ता गर्दैनन्,’ गौतम भन्छन्, ‘अनि जनताको लागि राजनीति गर्छौं भन्दै बाहिर–बाहिर ‘डिङ’ हाँकेर हिँड्छन् । असन्तुष्ट जनताकै मत लिएर चुनाव जित्ने दाउमा छन् ।’
आन्दोलन सुरु गरेपछि नेताहरु जामुनगाछी छिर्न नसकेको उनले बताए । ‘गत वैशाखमा स्थानीय चुनाव भयो । अबको चुनाव आउन १ महिना पनि बाँकी छ्रैन । तर नेताहरु आफ्ना राजनीतिक कार्यक्रम र योजना लिएर जामुनगाछी क्षेत्र आउन सकेका छैनन्,’ गौतमले भने, ‘चुनाव लक्षित कार्यक्रम लिएर नेता र उम्मेदवारले जामुनगाछी छिर्न सक्ने अवस्था छैन । किनभने उनीहरुले यो क्षेत्रका लागि केही गरेकै छैनन् । यदि काम गरेको भए आफ्नो क्षेत्रमा आउन कि डराउनु ?’
आफ्नो क्षेत्रभित्र नै डराएर हिँड्नुपर्ने र आन्दोलन भएको ठाउँमा जान नसक्ने अवस्था नेताहरुकै कारण सिर्जना भएको उनले बताए । जनताले धेरै कुरा नमागेको र विकास चाहियो मात्रै भन्दा पनि पन्छिएर नेताहरुले गलत राजनीतिक संस्कारको विकास गराएको गौतम बताउँछन् ।
‘नेताहरुमा राजनीतिक संस्कार हराउँदै गयो । यसको पछिल्लो उदाहरणका रूपमा जामुनगाछीले उठाइरहेको आवाजलाई लिन सकिन्छ,’ पूर्वशिक्षक अधिकारी भन्छन्, ‘राजनीतिप्रति नै वितृष्णा पैदा हुने गरीको व्यवहार नेताले देखाइरहेका छन् । त्यही भएकाले पनि मतदातासँग भोट माग्दै आउने नैतिकता उनीहरुमा छैन ।’ नेताको पछिल्लो व्यवहारले दलीय व्यवस्थालाई नै असर गरिरहेको उनले बताए ।
मन्त्री कार्कीसँग झन् आक्रोस
शेखर र लालबाबु मात्रै हैन, प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको निर्वाचन क्षेत्र पनि यही हो । क्षेत्र नम्बर ६ ‘ख’मा कांग्रेसका तर्फबाट कार्की प्रदेशसभा सदस्यका उम्मेदवार छन् । २०७४ मा यही क्षेत्रबाट निर्वाचित बनेका कार्कीप्रति स्थानीयको आक्रोस झन् थामिनसक्नु छ । हुन त उनले प्रदेशमै सबैभन्दा बढी विवादित मन्त्रीको छवि बनाएका छन् । विभिन्न विवाद र अनियमिततामा मुछिएका छन् ।
प्रदेश सांसद जितेर मन्त्रीसमेत भएपछि राजनीतिबाट प्राप्त गरेको पहिलो अवसरलाई नै दुरुपयोग गर्दै जनविरोधी काममा कार्कीले पाइला चालेको गुनासो स्थानीय गर्छन् । मन्त्री भएर पनि आफ्नो क्षेत्रको विकासमा चासो नदिएको र योजनामा अनियमितता गरेको आरोप उनीमाथि लाग्दै आएको हो । विराटनगरको झरना चोकमा निर्माण गरिएको सेल्फी पुल उनलाई सबैभन्दा बढी विवादमा ल्याउनेमध्येको एउटा योजना हो । उनलाई विवादको चचुरोमा पुर्याउने यस्ता अरु पनि योजना छन् ।
आसेपासे र आफूनिकटकालाई च्यापेर कार्कीले सुनसरी-मोरङ सिँँचाई आयोजनाको नहरमा नियमविपरीत सेल्फी पुल बनाउन आफ्नो संसद विकास कोषबाट बजेट छुट्याएका थिए । आयोजनासँग अनुमति नै नलिइकन वस्ती नै डुबानमा पर्ने गरी मनपरी ढंगले पुल निर्माण थालिएपछि उनी विवादको भूमरीमा परे । स्थानीयले चर्को विरोध गरेपछि निर्माण रोकियो । अर्कोतर्फ ३० प्रतिशतजति मात्रै काम गरेर पूरै भुक्तानी लिन खोज्दै अनियमितताको प्रयास गरियो ।
विकास निर्माणका नाममा अनियमितता गरेको, मन्त्रालयमा कार्यकर्ता र आसेपासेलाई नियुक्ति दिएको, प्रतिपक्षीको भूमिकामा रहँदा संसदमा आफैँले विरोध गरेको कार्यक्रमलाई मन्त्री भएपछि निरन्तरता दिएको, सार्वजनिकभन्दा पनि व्यक्तिगत हितका लागि मात्रै काम गरेको लगायतका दर्जनौं आरोपले कार्की घेरिएका छन् । त्यसकै परिणाम स्वरूप शेखर र लालबाबुजस्तै उनी पनि आफ्नै क्षेत्रका मतदाताबाट बहिष्कारमा परेका छन् ।
मन्त्री हुँदा प्रष्टसँग र छर्लङ्गै देखिने गरी जनभावनाविपरीत काम गरेका उनै कार्की अहिले पनि त्यही क्षेत्रबाट उम्मेदवार बनेर चुनावी मैदानमा उभिएका छन् । खुलेआम रूपमा बदमासी गरेर सांसद र मन्त्री पदकै बदनाम गरेको आरोप खेपिरहेका उनलाई नै कांग्रेसले पुनः टिकट दिएर उम्मेदवार बनाएको हो । जसका कारण कांग्रेस र कार्कीप्रति मतदाता आक्रोसित छन् ।
‘कार्कीले आफ्नै आँगनका जनताको मागलाई सम्बोधनको प्रयास गर्नुपर्ने हो । उनी प्रदेशका बहालवाला मन्त्री हुन् । तर जनताको मागबाट डराएर पर–पर हुँदै हिँडिरहेका छन्,’ स्थानीय उत्तम थापाले भने, ‘यसरी जनतासँग भाग्नेले फेरि यही क्षेत्रबाट उम्मेदवारी दिनु लज्जाको विषय हो । यदि नैतिकता थियो भने पुनः उम्मेदवार बन्न हुँदैन थियो । कार्कीको विवादित विगतकै कारण उनलाई फेरि चुनाव जिताउन हुँदैन भन्ने मत बलियो बनेर गएको छ । जनता क्रुद्ध भएको परिणाम यसपटकको चुनावमा देखिने छ ।’
केदार कार्की ।
फेरि चुनाव जिताउँदा यसअघिजस्तै जनतालाई घात गर्ने भएकाले यसपटकको निर्वाचनको परिणाम कार्कीजस्ता पात्रका विरुद्ध आउनुपर्छ भन्ने मत बलियो बनेर गएको थापाले बताए । ‘प्रदेश सांसद जितेपछि कार्कीले जनताको पक्षमा काम गरेको देखिएन । पछि त मन्त्री नै भए । तर मनोमानी हिसाबले जनभावनाविपरीतका काममा अग्रसरता देखाएकाले विवादै विवादमा परे,’ उनले भने, ‘यस्ता पात्रलाई ठेगान लगाउने उपयुक्त माध्यम चुनाव नै हो । आफ्नो क्षेत्रको विकास नगरेर प्रतिवद्धताविपरीतको गतिविधि गरिरहेका व्यक्तिलाई चिनेर अर्कोपटक अवसर दिन हुँदैन भन्ने कुरा सबैले बुझ्न आवश्यक छ । यदि हैन भने भोलिका दिनमा यस्ता पात्रबाट जनता ठगिने क्रम दोहोरिरहन्छ ।’
थापाले विभिन्न योजनामा अनियमितता र जनविरोधी काम गर्ने कार्कीलाई कारबाही गर्नुपर्नेमा कांग्रेसले पुनः टिकट दिएर पुरस्कृत गरेको भन्दै आलोचना गरे । ‘यस्ता विवादितलाई पाखा लगाएर पार्टीले राम्रा, असल र राजनीतिमा लामो समयदेखि दुःख गरिरहेका व्यक्तिलाई अवसर दिनुपर्ने हो । तर यस्तैले पटक–पटक अवसर पाइरहँदा कांग्रेसजस्तो प्रतिष्ठित पार्टीको बदनाम र आलोचना भइरहेको छ,’ उनले भने, ‘कांग्रेसको वैशाखी टेकेर पदमा पुग्दै कार्कीले खुलेआम बदमासी गरेको कुरा कतै छिपेको छैन । कांग्रेसबाट उनैले अवसर पाउनु दुर्भाग्यपूर्ण हो । राम्रा मान्छेलाई भने अवसरविहीन बनाइयो ।’
कार्की कांग्रेसभित्र डा. शेखरनिकट मानिन्छन् । एक नेताका अनुसार विवादै विवादले छोपिएका कार्कीलाई डा. शेखरकै जोडबलमा टिकट दिइएको हो । ‘पटक-पटक विवादमा परेकै कारण कार्कीलाई टिकट दिने विषयमा शेखर र पार्टी सभापति शेरबहादुर देउवा दुवै सकारात्मक थिएनन्,’ ती नेताले भने, ‘उम्मेदवार नबनाएमा प्रतिनिधिसभामा आफूलाई असहयोग हुने बुझेपछि शेखर बाध्यतामा परे ।’ कार्की उम्मेदवारी दर्ता गर्न डा. शेखरसँगै मनोनयन स्थलमा पुगेका थिए ।
जामुनगाछीका स्थानीय सुदीप लम्साल नेता र दलविरुद्धको आन्दोलन आगोको एउटा झिल्को मात्रै भएको बताउँछन् । ‘राजनीतिले बसाउँदै गएको गलत परिपाटी र संस्कारविरुद्ध आन्दोलनको झिल्को निस्किएको छ । त्यसले डढेलोको रूप लियो भने सबै सखाप बनाउँछ भन्ने नेताहरुले बुझ्नुपर्छ,’ उनले भने, ‘स्थानीयको मागको सम्बोधनलाई बेलैमा चासो दिइएन । आन्दोलनले उग्ररूप लिएमा परिस्थिति नियन्त्रण बाहिर जान सक्छ ।’
अन्यत्रको जस्तै समान विकास हुनुपर्छ भन्ने स्थानीयको आवाज गलत नभएको लम्सालको भनाइ छ । यदि नेताहरुले जनताकै लागि राजनीति गरेका हुन् भने जनआवाजलाई किन दबाउन खोजिरहेका छन् भन्ने प्रश्न उब्जिएको उनले बताए । लम्सालका अनुसार ‘विकास विरोधी नेता बहिष्कार अभियान’ मा नेताकै इशारामा यसअघि प्रहरीले हस्तक्षेप गरेपछि स्थानीय थप आक्रोसित बनेका छन् ।
विकास निर्माणमा पछाडि पारिएको भन्दै आन्दोलनमा उत्रिएका स्थानीयले ‘विकासविरोधी नेता बहिष्कार गरौँ’ भन्ने नारा लेखेर फोटोसहितको ब्यानर टाँगेका थिए । प्रहरीले ब्यानर हटाएपछि आफूहरुको शान्तिपूर्ण आन्दोलन दबाउन नेता र मन्त्रीको निर्देशनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै स्थानीय थप आक्रोसित बनेका हुन् ।
नेता बहिष्कारको ब्यानरमा कांग्रेसका डा. शेखर कोइरालासहित मिनेन्द्र रिजाल, महेश आचार्य, केदार कार्की र भीम पराजुली तथा एमालेका लालबाबु पण्डित, गुरु बराल र जीवन घिमिरेको तस्बिर प्रयोग गरिएको छ । यी ८ जना नेतालाई स्थानीयले विकास विरोधी घोषित गरेका छन् ।
विराटनगर महानगरका पूर्वमेयर भीम पराजुली क्षेत्र नं ४ ‘ख’ बाट प्रदेशसभा सदस्य उम्मेदवार हुन् । मेयर भएका बेला पनि विकासलाई बेवास्ता गरेको आरोप लागेका उनी अन्य धेरै विवादमा मुछिएका छन् । प्रदेश १ का पूर्वसामाजिक विकास मन्त्री जीवन घिमिरे सोही क्षेत्रका प्रदेशसभा उम्मेदवार हुन् । मन्त्री भएका बेला जामुनगाछीमा रहेको आयुर्वेदिक अस्पताल सार्न उनले भूमिका खेलेको गुनासो स्थानीयको छ ।
बहिष्कारमा परेकामध्ये मिनेन्द्र, महेश र गुरु उम्मेदवार छैनन् । यसअघि यही क्षेत्रबाट अवसर पाउँदा बेवास्ता गरेको ‘बिल्ला’ भने उनीहरुले पनि भिर्नु परेको छ । सडक निर्माणको ठेक्का लिएर काम नगर्ने ठेकेदारहरुलाई कारबाही नगरी नेताले नै संरक्षण गरेको आरोप स्थानीयको छ ।
गणेश चोक-केसलिया खण्डअन्तर्गतको करिब ३ किलोमिटर सडक निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनी र ठेकेदारको फोटोसहितको ब्यानर पनि टाँगिएको थियो । लामो समयदेखि सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनी खुस्बु कन्स्ट्रसनका दीपक पौडेल र दृश्यन्त पौडेल तथा भूमि कन्स्ट्रक्सनका शुभम बोहराको तस्बिरसहितको ब्यानर पनि स्थानीयले टाँगेका हुन् ।
नेतालाई रिझाएर ठेक्का लिने तथा पाएको काम समयमै पूरा नगर्ने ठेकेदार र निर्माण कम्पनीको नाम सार्वजनिक गरिएको स्थानीयको भनाइ छ । तर वर्ष दिनदेखि आन्दोलन हुँदा पनि ठेकेदार कम्पनी बेपत्ता छ । धुलाम्मे बाटोका कारण आवतजावतमा र स्थानीयको स्वास्थ्यमा गम्भीर असर परिरहँदा समेत कुनै चासो दिएको छैन । जामुनगाछी क्षेत्रमा पर्ने हुलाकी सडकको काम रोकिँदा स्थानीयलाई झनै बढी समस्या भएको हो ।
विकास नहुँदाको पीडासँगै धुलो सहन नसकेका स्थानीय भने आन्दोलन गरेर कहिले सडक अवरुद्ध पार्छन् । दल र नेतालाई बहिष्कार गर्दै नेता तथा ठेकेदारको फोटो टाँगेर सार्वजनिक हिसाबले तिरष्कार एवं बेइजत गर्छन् ।
सम्बन्धित सबै निकायलाई बारम्बार जानकारी र पत्राचार गर्दा पनि आफूहरुको समस्या समाधान नभएको नेता बहिष्कार अभियानका संयोजक उत्तम दाहालले बताए । आफूहरूकै भोटका कारण पटक–पटक सत्तामा पुगेका नेताले जनतालाई भोट बैंकका रूपमा मात्रै प्रयोग गरेको र विकास निर्माणमा राजमार्ग पश्चिमको क्षेत्रलाई उपेक्षा गरेको उनको आरोप छ । राजमार्ग पश्चिमको क्षेत्रलाई स्थानीयले विराटनगरको कर्णाली घोषणा गरेका छन् ।
‘विकास निर्माणमा अवरोध गरेकाले नेतालाई बहिष्कार गरेर जनता स्वतःस्फूर्त रूपमा आन्दोलिन बनेका छन्,’ दाहालले भने, ‘बेवास्ता गरिएकाले थप चर्र्काएर अघि बढ्ने योजना बनाउँदै छौँ ।’ उनका अनुसार आन्दोलनका कारण जामुगाछी क्षेत्रमा नेताहरु चुनावी कार्यक्रम लिएर आउन सकिरहेका छैनन् । जामुनगाछीमा हरेक निर्वाचनमा राजनीतिक गतिविधि र चुनावी चहलपहल तीव्र हुने गरेको थियो ।
विकासमा चासो नदिएकैले राजनीतिक पार्टी र विकास विरोधी नेताहरुलाई गाउँ, क्षेत्र प्रवेशमा रोक लगाउनु परेको दाहाल बताउँछन् । उनले जनताको मागलाई अटेर गरी बलपूर्वक जामुनगाछीमा प्रवेश गरे राजनीतिक दलका उम्मेदवार र नेताहरुलाई जनकारबाही गरिने बताए । ‘हामीले असुहाउँदिलो र असम्भव माग राखेका छैनौँ,’ दाहालले भने, ‘लोकतन्त्रमा नागरिकले आफू हिँड्ने बाटो बनाइदेऊ भनेर आफ्नो नेतालाई भन्न नपाउने भन्ने हुन्छ ?’