विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीका अवसरमा विराटनगरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । देवकोटा पुस्तकालयले आफ्नो ६४औँ वार्षिकोत्सव समेतको अवसर पारेर महाकविको स्मृतिमा कार्यक्रम आयोजना गरेको हो ।
यस अवसरमा तीन दिवसीय विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । रक्तदान, कविता वाचन, शोभायात्रा एवं प्रभातफेरी आयोजना गरी लक्ष्मीजयन्ती मनाइएको हो ।
सोमबार आयोजित कार्यक्रममा सहभागीहरुले महाकविको शालिकमा माल्यार्पण गरी श्रद्धा व्यक्त गरेका थिए । त्यस अवसरमा महाकविको योगदानबारे चर्चा गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा प्राज्ञ गंगा सुवेदी सहभागी भएकी थिइन् ।
यसै अवसरमा आयोजित रक्तदान कार्यक्रम अतुल कटुवालको संयोजकत्वमा भएको थियो । यसैगरी प्रज्वल ढुंगानाको संयोजकत्वमा कविता एकल वाचन कार्यक्रम गरिएको थियो ।
ढुंगानाकै संयोजकत्वमा लक्ष्मी जयन्तीका अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना भएको थियो । यसै अवसरमा शोभायात्रा पनि गरिएको थियो । शशांक अर्यालको संयोजकत्वमा भएको शोभायात्रामा सर्जकहरुको सहभागिता थियो ।
विभिन्न स्रष्टा एवं व्यक्तित्वहरुले यस अवसरमा महाकवि देवकोटाप्रति सम्मान प्रकट गरेका थिए । विशेष रुपमा आयोजना गरिएको मन्तव्य कार्यक्रमको संयोजन ग्रीष्म ढुंगानाले गरेका थिए । कार्यक्रमको सभापतित्व आयोजक संस्थाका पूर्वसभापति रमेश श्रेष्ठले गरेका थिए ।