विराटनगर । विभिन्न घटनामा परेर आइतबार प्रदेश १ मा ४ जनाको मृत्यु भएको छ ।

झापा, मोरङ, सुनसरी र उदयपुरमा अलगअलग घटनामा परेर २ महिला र २ जना पुरुषको मृत्यु भएको हो । झापा र मोरङमा सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ ।

झापाको हल्दिबारी गाउँपालिका–२ मा मोटरसाइकल दुर्घटना हुँदा २१ वर्षीय सुकलाल राजवंशीको मृत्यु भएको छ । हल्दिबारी–पाराखोपी सडकखण्ड अन्तर्गत हल्दिबारी– २ स्थित रामलाल चोक नजिकै आइतबार साँझ ६ः१५ बजेतिर २ वटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मे ५ प २१६१ र मे ६ प ४१०३ नम्बरको मोटरसाइकल ठक्कर खाँदा २१६१ नम्बरको मोटरसाइकलको पछाडि सवार राजवंशीको घटनास्थलमै मृत्यु भएको हो । २१६१ नम्बरको मोटरसाइकलमा २ र ४१०३ नम्बरको नम्बर मोटरसाइकलमा ३ जना सवार थिए । दुवै मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

त्यस्तै कोसी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ खार्जीमा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको छ । साँझ ७ः१० बजेतिर भएको दुर्घटनामा साइकल यात्री १८ वर्षीया सोनिया शर्मा घाइते भइन् ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मोरङको कटहरी गाउँपालिका–६ की १८ वर्षीया सुफारी सरदारको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए । उनका अनुसार घाइते भएकी सुफारीको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचारका लागि पुर्याउनसाथ मृत्यु भएको हो ।

दुर्घटना मोटरसाइकल चालक कटहरी–६ का १९ वर्षीय विशाल सरदार पनि घाइते भएका छन् । दुर्घटनामा परेर घाइते भएका मोटरसाइकल चालक र साइकल यात्रीको उपचार भइरहेको छ ।

यसैबीच उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१ मा भीरबाट लडेर ३४ वर्षीया खड्ककुमारी कार्की (राउत)को मृत्यु भएको छ । घाँस काट्न गइकी उनी फर्किएर नआएपछि परिवारका सदस्य र स्थानीयले खोजी थालेका थिए ।

खोजी गर्ने क्रममा भीरबाट लडेर घाइते भएको अवस्था साँझ ५ बजेतिर उनी फेला परेकी थिइन् । उद्धार गरेर उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता सुनसरीको इटहरी उपमहानगरपालिका–७ का ५५ वर्षीय अनन्त ऋषिदेवको नहरमा डुबेर मृत्यु भएको छ । नुहाउनका लागि चतरा नहरमा पसेका ऋषिदेवको डुबेर दिउँसो ४ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु