सतीसकुमार राजवंशी

विराटनगर । कटहरी–३ का अजन्त राजवंशी तिहारमा घर सजाउन झिलिमिली बत्ती किन्न विराटनगर बजार आए । तरमूल्यमा भएको वृद्धिले गर्दा उनले चाहे जति संख्यामा बत्ती किन्न सकेनन् ।

विराटनगरको बजारमा बत्ती खरिद गर्दै गर्दा भेटिएका उनले पछिल्लो तिहारको तुलनामा मूल्य आकाशिएका कारण आफूजस्तो धेरै सर्वसाधारणले बत्ती खरिद गर्न नसकेको प्रतिक्रिया दिए ।

‘गत वर्ष १५ मिटर लामो एलइडी झिलिमिली बत्ती दुई सय रुपैयाँमा किनेको थिए यसपटक त्यसको मूल्य दुई सय ५० भएछ’ राजवंशीले बढेको मूल्यको जानकारी दिँदै थपे, ‘एक सय ५० रुपैयाँ पर्ने बत्ती एक सय ९० रुपैया पर्याे ।’

नेपाल विद्युतीय व्यवसायी महासंघका अनुसार यस वर्ष झिलिमिली बत्तीको मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । अमेरिकी डलरमा भएको मूल्यवृद्धि तथा राष्ट्र बैंकको नीतिको कारण बत्तीको मूल्य बढेर आएपछि आफूहरुले पनि मूल्य बढाउनु परेको नेपाल विद्युतीय व्यवसायी महासंघले बताएको छ ।

तिहारमा अधिक प्रयोग हुने झिलिमिली बत्ती खरीद गर्ने ग्राहकहरुले पछिल्लो वर्षभन्दा यस वर्ष हरेक सामग्रीलाई २० देखि २५ रुपैयाँ बढी तिर्नु परेको विराटनगरस्थित न्यू अमन स्टोरका सञ्चालक परवेज आलमले बताए ।

‘हाम्रो खरिद नै महङ्गो छ त्यसैले बजारमा सामानको भाउ अलि बढेको छ’ आलमले भने, ‘बजारमा सामान पनि खासै छैन र बिक्री पनि छैन ।’

तिहार २

झिलिमिली बत्ती व्यापारी महमद सलिम अन्सारीको अनुभव पनि आलमको जस्तै छ । पहिलेको मूल्यमा बेच्न सक्ने अवस्था नरहेको बताउने उनी गतवर्षको तुलनामा प्रति सामान ८० रुपैयाँसम्म महङ्गो मूल्यमा बिक्री गर्नुपर्ने आफूहरुको बाध्यता रहेको सुनाउँछन् ।

बजारमा बिक्री नरहेको विराट होम इलेक्ट्रोनिक्समा मानिसको चहलपहल देखेर पनि थाहा हुन्छ । अघिल्ला वर्ष यहीँ समयमा ६–७ कर्मचारी राख्नुपर्ने विगत सम्झँदै विराटका सञ्चालक मोहन मेहता भन्छन्, ‘व्यापार छैन त्यसैले यसपटक भएका एक्ला कर्मचारी पनि फुर्सदमा छन् ।’

प्रदेश १ राजधानी विराटनगरसँग सीमा जोडिएको भारतीय बजार जोगबनीमा सस्तोमा सामग्री पाइने भएकाले अधिकाशंले उतैबाट सामान खरिद गर्दा व्यापारमा मन्दि आएको विराटनगरका व्यापारीहरू बताउँछन् ।

‘जोगबनी बन्द भएको बेला नेपाली बजारमा ग्राहकको भीड हुन्छ’ व्यापारी आलमले भने, ‘तर अहिले सीमा खुला छ सबै उतैको बजारबाट सामान ल्याउँछन् । यता सुख्खा छ ।’

विराटनगरमा मात्र नभई नेपालको राजधानी काठमाडौंका व्यापारीहरुको तिहार बजारको अनुभव पनि उस्तै छ । काठमाडौंमा विद्युतीय सामग्रीका व्यवसाय सञ्चालन गरिरहेका मनराज खतिवडा यसपटक तिहारमा व्यापार उत्साहजनक नरहेको बताउँछन् ।
‘ग्राहकको माग अनुसार बजारमा तिहार बत्ती नै उपलब्ध छैन’ व्यवसायी खतिवडाले भने, ‘भएका उपलब्ध सामग्रीको मूल्य पनि उच्च छ । यस पटक व्यापार छैन ।’

नेपाल विद्युतीय व्यवसायी महासंघका महासचिव कमल पोखरेलका अनुसार सामान्य अवस्थामा नेपालमा १ अर्बभन्दा बढी मूल्य बराबरको विद्युतीय सामग्री तथा बत्ती वार्षिक रुपमा आयात हुन्छ । अधिकांश चीनबाट आयात हुने सामग्रीमध्ये तिहारमा प्रयोग हुने झिलिमिली बत्तीले मात्रै आयातको ८० प्रतिशत हिस्सा ओगट्छ ।

त्यस्तै, क्रिसमस, नयाँ वर्ष तथा विवाह भोजजस्ता कार्यक्रमहरुमा २० प्रतिशत आयातित बत्तीको खपत हुने गरेको महासंघको तथ्याङ्क छ । तिहारको समयमा बजारमा सबैभन्दा धेरै एलईडी लाइट, डिस्को लाइट, फ्रेम लाइट, नेट झालर, दियो, स्ट्रिप लाईटको बिक्री अत्यधिक हुने गर्छ । तर यसपटक मूल्यवृद्धिका कारण बत्तीको व्यापार सुस्ताएको छ ।

(प्रशिक्षार्थी)

91
Shares
६ कार्तिक २०७९, आईतवार १९:३५