काठमाडाैं । काठमाडौंको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औं ‘काग सम्मेलन’ आयोजना गरिएको छ ।
यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नापार्कस्थित शान्तिवाटिकामा आज बिहान काग बोलाएर १९औं काग सम्मेलन गरिएको हो ।
सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेका थिए । दुलालले कागको स्वर निकालेर बोलापछि कागहरु उनको आवाज भएको ठाउँसम्म आइपुगेका थिए । विगत १८ वर्षदेखि काग तिहारका अवसरमा दुलाल काग सम्मेलन गर्दै आइरहेका छन् ।
काग तिहारको दिन यमराजको सन्देशवाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन छ । काग तिहारमा कागलाई मीठा मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास रहि आएको छ ।
काग सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै दुलालले यस वर्षको काग सम्मेलनको सन्देश ६० कटेका वृद्ध नेताहरुको बिदाइ र युवाहरुलाई अवसर रहेको बताए ।
कलाकार दुलाले आगामी वर्ष काग सम्मेलन गरेको २० वर्ष पुग्ने र सो अवसरमा टुँडिखेल वा नारायणटहिटीमा ठूलो कार्यक्रम गर्ने इच्छा व्यक्त गरेका छन् । आफ्नो आगामी बारे बताउँदै उनले केही समयपछि नै काग सम्मेलन गरी सिंहदरबार र संसद भवन अवरोध गर्ने सोच रहेको बताएका छन् ।
कलाकार दुलालले काग सम्मेलनको अवसरमा काग, मयुरका स्वर निकालेर सुनाएका थिए ।
तिहारको पाँच दिनमा क्रमशः काग, कुकुर, गाई, गोरु र आफ्ना दाजुभाईको पूजा गरिन्छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म गरी पाँच दिन मनाइन्छ । यसको सुरुवात कात्तिक कृष्ण त्रयोदशीको दिन मनाइने काग तिहारबाट हुन्छ ।
कागतिहारका दिन कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । यस दिनमा बिहानैदेखि कागको पूजा गरिन्छ, घरबाहिर पात या दुना, टपरीमा विभिन्न खाना राखेर कागलाई खान दिइन्छ । कागको पूजाआजा गर्दै आउँदो वर्षभर कागले आफ्नो घरआँगनमा राम्रो र सुखद् खबरमात्रै ल्याओस् भनेर कामना गरिन्छ ।