विराटनगर । तिहार नजिकिएसँगै घर–गाउँमा विशेष चहलपहल हुन्छ । सयपत्री र मखमलीले मिठो सुवास छरिरहँदा दियो र झिलिमिली बत्तीले औंसीको अन्धकार सजिलै चिरिदिन्छ । रङ्गोलीका रङ्गमा घर, आँगन रङ्गीन भइरहँदा देउसी, भैलो र तिहारका गीतले सहर गाउँ गुन्जायमान बनाउँछ ।
सारा नेपाली तिहारको रमाइलोमा झुमिरहेका बेला स्वास्थ्य र सुरक्षा क्षेत्रमा आबद्ध पेशाकर्मीहरुले भने सम्झनामा तिहार बिताउनु पर्ने बाध्यता छ । सपरिवार घरमा बसेर रमाइलो गर्ने मन हुँदाहुँदै पनि कमै मात्र स्वास्थ्य र सुरक्षाकर्मीहरुले चाडपर्वको बेला त्यो सौभाग्य प्राप्त गर्छन् ।
तिहारको माहोलले नेपाललाई छपक्कै छोप्दा यस पटकको तिहार कसरी मनाउँदै हुनुहुन्छ भनेर हामीले स्वास्थ्य र सुरक्षा क्षेत्रमा आवद्ध रहेकाहरुसँग कुराकानी गरेर तिहार विशेष सामग्री तयार गरेका छौँः
देवानन्द यादव, ट्राफिक प्रहरी
सुुनसरी रामधुनी ९ का देवानन्द यादव दशकयता नेपाल प्रहरीका रुपमा कार्यरत छन् । हरेक वर्ष चाडपर्वको बेला बिदा पाएर परिवारसँग समय व्यतीत गर्न घर पुग्ने उनी यतिबेला काठमाडौंमा ट्राफिक प्रहरीको तालिम लिइरहेका छन् । तालिम गरिरहेका उनले दसैँमा बिदा पाए पनि तिहारमा भने पाउन सकेनन् ।
घरको जिम्मेवारी बढ्दै जाँदा चाडपर्व बाल्यकालको जस्तो नहुने उनको अनुभव छ । जिम्मेवारी बहन गरिरहँदा चाड पर्व मनाउन नपाए पनि यादहरु आउने गरेको उनी बताउँछन् । ‘घरको जेठो सन्तान हुँ, आजभोलि काँधमा जिम्मेवारी बोकेर हिँड्नमा नै व्यस्त छुु ’ एएमजी टाइम्ससँग यादवले भने, ‘बिदा पाइएको छैन, दिनभर् काममा व्यस्त हुने अनि थाकेर राति घर पुग्ने, फोनमा एकछिन कुरा गर्ने अनि निदाउने । अहिले यस्तै चलिरहेको छ । यसपटक तिहार पनि यस्तै हुन्छ ।’
अन्य सामान्य बेलामा भन्दा तिहारमा सडकमा जाम कम हुने भए पनि ट्राफिक व्यवस्थापनमा उनी दिनभर लागि पर्छन् । ‘दिनभरी सडकमा ‘प्वाप्वा, पिपिप र टिँटिँट… सुन्दै दिन कट्छ’ उनले भने, ‘तिहारको बेला घर जान नपाउँदा मन खल्लो छ । घर परिवारको याद आउँछ अनि मन भारी हुन्छ तर आफ्नो जिम्मेवारी पूरा गर्न लागि परेको छु ।’
डा. प्रभात चालिसे, मनोचिकित्सक
डा. चालिसे विराटनगरस्थित कोसी अस्पतालका मनोचिकित्सक हुन् । चिकित्सक भएपछि हरेक बेला उपचारका लागि तयार हुन पर्ने भए पनि यस पटक उनी परिवारसँग रमाइलो गर्दै तिहार मनाउने योजनामा छन् । ‘समय र स्थान मिलाएर देउसी भैलो खेल्ने योजना छ’ उनले भने, ‘पहिले जस्तो तिहारको उल्लास त छैन, तर पारिवारिक भेटघाट गरी मनाउने तयारीमा छु ।’
अध्ययनका क्रममा घरबाहिर रहँदा तिहारमा भाइटीकाको याद आउने र मन अमिलो भएको अनुभव डा. चालिसेसँग पनि छन् । पिङ्ग र देउसी भैलो खेलेर तथा सेल रोटी खाएर हर्षोल्लासका साथ बाल्यकालमा रमाइलो गर्दै मनाएको तिहारको आजभोलि याद आउने गरेको उनले सुनाए ।
सन्तोष सिंह, नेपाल प्रहरी
प्रहरी जवानका रुपमा तीन वर्षदेखि कार्यरत सन्तोष सिंहले चाडपर्वमा हालसम्म एक पटक पनि बिदा पाएका छैनन् । दसैँ–तिहार प्रहरी चौकीमा नै मनाइने भए पनि घरगाउँको जस्तो नहुने उनले बताए ।
‘दिपावलीका दिन आफू घरमा परिवारसँग नहुँदा दुःख लाग्छ, भाइटीकाको दिन पीडा झन दोब्बर हुन्छ,’ सिंहले भने, ‘चौकीमा खासै मज्जा आउँदैन । चाडपर्वमा घरमा एक किलो मासु सबै जना मिलेर खाँदा जुन मज्जा आउँछ, यहाँ २१ किलोको खसी काटेर खाँदा पनि त्यो मज्जा आउँदैन ।’ तिहारमा गाउँघरको रौनक याद आउने उनले बताए ।
नुना रायमाझी, नर्स
नर्सिङ पेसामा सात वर्षदेखि आबद्ध रायमाझीको घर मोरङको अमरदह हो । यसपटक पनि उनको तिहार अस्पतालमा नै बित्ने भएको छ । रोगले चाडपर्व नभन्ने भएकाले आफूहरु अस्पतालमा सधैं तयार अवस्थामा हुनुपर्ने उनले बताइन् ।
‘लक्ष्मी पूजाको दिन एकछिन बिदा मिलाएको छु, घर गएर पूजा गरेर अस्पतालमा ड्युटी आइहाल्छु’ एएमजी टाइम्ससँग उनले भनिन्, ‘पालो मिल्यो भने टीकाको दिन घरमा गएर रमाइलो हुन्छ । मिलेन भने अस्पतालमाा नै तिहार कट्छ ।’
सम्मरबहादुर राना, नेपाल प्रहरी
नेपालगञ्जका सम्मरबहादुर राना १९ वर्ष देखि नेपाल प्रहरीमा सेवा दिइरहेका छन् । ठाँउ–ठाँउमा सरुवा हुने क्रममा हाल विराटनगरमा उनको पोस्टिङ छ । तीन महिनादेखि विराटनगरमा रहेका उनी तिहारको मुखमा विराटनगरका बजारमा मानिसले तिहार हाट भरेको देख्दा खिन्न हुन्छन् ।
‘तिहार नजिकिएसँगै बजारमा देखिने चहलपहलले खिन्न मन पार्छ, यहाँ देखिने दृश्यले आफनो ठाउँको याद दिलाउँछ,’ रानाले भने, ‘लगातार पाँच वर्ष भयो दसैँतिहार परिवारसँग मनाउन नपाएको । यो वर्ष पनि यतै मनाइन्छ । कस्तो पेसा छानियो भनेर कहिलेकाहीँ मन अमिलो हुन्छ ।’
तिहारमा चेलीको मन दुखाउन नहुने भए पनि बिदा नहुने पेसामा आबद्ध भएकाले विगतका रमाइलो क्षण सम्झेर नै चित्त बुझाउने गरेको उनले सुनाए ।
साम्वाती राजवंशी, नेपाल प्रहरी
नेपाल प्रहरीमा कार्यरत राजवंशी आसन्न निर्वाचनका क्रममा खटाइने म्यादी प्रहरीलाई तालिम दिन जनकपुरमा छिन् । विगत १६ वर्षदेखि प्रहरीमा रहेकी उनले यस पटकको तिहार विगतमा जस्तै घरभन्दा पर मनाउने छिन् ।
‘प्रहरी सेवामा रहनेलाई चाडपर्वमा बिदा पाउन कठिन हुन्छ’ राजवंशीले भनिन्, ‘घरमा दसैँतिहार लगायत चाडपर्व नमनाएको वर्षौं भयो । चाडपर्वको समयमा सीमा नाकामा तस्करहरू बढी सक्रिय हुने भएकाले राजवंशीले अधिकांश समय आफ्नो नेतृत्वको प्रहरी टोलीसँग नेपाल भारत–सीमा क्षेत्रमा दसैँ तिहार मनाएकी छिन् । घरको ज्येष्ठ सदस्यको निधन भएयता राजवंशीले आफू कार्यरत क्षेत्रमै पर्व मनाउने गरेकी छन् ।
‘परिवारका सदस्यले मन दुखाउँछन्, चाडपर्व मनाउन पनि पाइँदैन भनेर त्यसैले सबैलाई म भएको ठाउँमा नै बोलाउने गरेको छु’ उनले भनिन्, ‘सम्भव भएसम्म सबै भेला हुन्छौँ, समय मिलाएर म कोठमा आउँछु अनि रमाइलो गरेर चाडपर्व मनाउने गरेका छौँ ।’
लिजा गनगाई, प्रयोगशाला प्राविधिक
विराटनगरस्थित प्रयोगशालमा कार्यरत लिजा गनगाईको घर मोरङको सुनवर्षी हो । तर स्वास्थ्य क्षेत्रमा आबद्ध भएयता उनले घरमा तिहार मनाउन नपाएको तीन वर्षभन्दा बढी भइसक्यो ।
‘घरमा लक्ष्मी पूजा गर्न, साथीभाइसँग देउसी भैलो खेल्न जान नपाएको धेरै भयो’ दुखी हुँदै उनले भनिन् ‘भाइटीकाका दिन साइतमा भाइलाई टीका लगाउन नपाउँदा साह्रै दुःख लाग्छ ।’
चाडपर्वको समयमा परिवार, घर र साथीभाइका लागि समय निकाल्न नसके पनि स्वास्थ्य क्षेत्रमा आबद्ध भइ बिरामीको उपचारमा संलग्न हुन पाउँदा आफूले ती दुःख बिर्सिने गरेको गनगाई बताउँछिन् ।