विराटनगर । सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा यतिबेला दुईजना कार्यालय प्रमुख छन् । पुराना छँदै थिए, सरुवा भएर आएका नयाँ थपिएपछि एकै कार्यालयमा दुईजना प्रमुख भएका हुन् ।

असोज २६ गते उपसचिव खेमराज ओझाको सरुवा भएको थियो । निर्वाचन आयोगको सहमतिअनुसार राजस्व प्रमुख तीर्थराज खनाललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरियो । खनालका ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ओझालाई प्रमुख बनाएर पठाएको हो ।

उक्त कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको छ ।

असोज २७ गते राजस्व हाजिर भएका ओझाले पदभार ग्रहण गर्न पाएका छैनन् । प्रमुखको हैसियतमा खनालले नै काम गरिरहेका छन् ।

खनाल २०७८ कात्तिक ३ गते सरुवा भएर आएका थिए । उनी विभिन्न विवादमा पर्दै आएका छन् । खनालले सरुवा भएको ठाउँमा नगएकाले ओझाले जिम्मेवारी पाउन सकिरहेका छैनन् । उनी नियमित कार्यालय पुगेर हाजीर गरेर फर्कने गरिरहेका छन् ।

एकै कार्यालयमा दुईजना प्रमुख हुँदा दैनिक तथा प्रशासनिक कामकारबाहीमा समस्या भइरहेको कर्मचारी बताउँछन् । खनाल तिहारपछाडि मात्रै राजस्व छाड्ने अडान लिएर बसिरहेका छन् । सरुवाको प्रक्रिया पूरा भए पनि व्यक्तिगत स्वार्थका कारण खनालले राजस्व कार्यालय छाड्न नमानेको कर्मचारीहरु बताउँछन् ।

सेवाग्राहीलाई दुर्व्यवहार गर्ने, भन्सार कार्यालयसँगको मिलेमतोमा तस्करीको धन्दा चलाउने, तस्करको आरोप लगाएर सार्वजनिकस्थलमा सर्वसाधारणलाई कुटपिट गर्ने र तस्करीमा संलग्न सवारीसाधन तथा मानिसलाई बिना कारबाही छाडिदिने जस्ता विवादमा खनाल मुछिएका छन् ।

भारततिर तस्करी गरेको आशंकामा विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएर कारबाहीका लागि बुझाएको ८ ट्रक सुपारी दसैँ छुट्टीको मौका पारेर खनालले कारबाही नै नगरी छाडिदिएको पाइएको थियो । माथिल्लो निर्देशनअनुसार सुपारी छाड्नु परेको खनाल बताउँछन् ।

‘सरुवा भएको ठाउँमा नजाने कुरा हुँदैन । तर तिहार मनाएर मात्रै जान्छु,’ उनले भने, ‘चाडपर्वका बेला यता र उता गर्न अप्ठेरो हुन्छ । कार्यालय नछाडेसम्म म नै प्रमुख हुँ ।’ खनालले आफू प्रमुख भएर काम गर्दा कसैलाई पनि अप्ठेरो नभएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु