सतिसकुमार राजवंशी
आदिवासी राजवंशी समुदाय मौलिक सांस्कृतिक पर्व ‘हुकाहुकी’ को तयारीमा छन् । परापूर्वकालदेखि चल्दै आएको यो पर्वका अवसरमा आफ्नै भेषभुषामा सजिएर नाचमा सहभागी हुने गरिन्छ । यसलाई अरुवासी पावनी पनि भनिन्छ ।
धान, तोरी र जुटको प्रयोग गरी मनाइने गरुवासी पर्व राजवंशी समुदायको विशेष महत्व बोकेको पर्व मानिन्छ ।
हुकाहुकी परापूर्वकालदेखि खेलिँदै आएको प्राज्ञ पवन राजवंशी बताउँछन् । कृषिजन्य उत्पादनलाई पूजा गरिने यो पर्व तिहारको लक्ष्मी पूजाको दिनबाट सुरु हुने उनले बताए ।
लक्ष्मी पूजाको दिन माता लक्ष्मीलाई आह्वान गरिने प्रचलन रहेको राजवंशी बताउँछन् । ‘आह्वान गर्दा सोरो–सोरो, माँ लक्ष्मी घर या–घर या’ अर्थात् माता लक्ष्मी घर आउनुहोस् भनेर आग्रह गर्ने गरिएको राजवंशीले बताए ।
पर्वका दिन बिहान महिलाहरु आँगनलाई गोबरले लिपेर चिटिक्क पार्छन् । पुरुषहरु काँसको झार ल्याएर हुकाहुकी तयार पार्ने गर्दछन् ।
तयार हुकाहुकीलाई विधिवत रुपमा भगवानलाई अर्पण गरेपछि साँझ आ–आफ्नो खेतमा गएर हुकाहुकीे ‘खट नम सेरो–सेरो, लोकेर धान आउलवाउल–आउलवाउल हामार धान दुधेरचाउल–दुधेरचाउल’ भन्दै खेल्ने गरेको राजवंशी बताउँछन् ।
राजवंशीहरुले कृषि क्षेत्रलाई प्रमुख मानेर धान बाली, पाटा (जुट) खेती र तोरी खेती अनिवार्य उब्जाउनु पर्ने जिम्मेवारीलार्ई नयाँ पुस्तामा हस्तान्तरण गर्दै गएको राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष वरुण राजवंशी बताउँछन् ।
मानिसलाई आवश्यक गाँस बास र कपासलाई जोगाई राख्न, वर्षभरिक लागि धानबाली भित्र्याउने, राजवंशीहरुको जन्म–मृत्यु संस्कारमा र घर निर्माणमा अनिवार्य प्रयोग हुने जुट भित्र्यााउने समय भएकाले हर्षोल्लासका साथ पर्व मनाइने राजवंशी बताउँछन् ।
सन्ठीको हुकाहुकी र टेक्ठी बनाएर घरमा अग्नि प्रज्वलन गरिन्छ । यो वैदिक कर्मयुक्त संस्कारले अग्निको उज्यालोमा धानबाली नष्ट गर्ने किराहरुको नाश हुने, पिना धानमा छकिर्ने नियमले धान बालीलाई मल हुने भएकाले यसको वैज्ञानिक महत्व पनि रहेको जनाइएको छ ।
झापा, मोरङ र सुनसरी लगायतका पूर्वी तराईमा आफ्ना पितृप्रति श्रद्धा व्यक्त गर्दै यो पर्व मनाउने गरिन्छ। राजवंशी, ताजपुरिया, गनगाईं लगायतका समुदायमा यो पर्व मनाउने चलन छ।
हुकाहुकी पर्व कोच समुदायले आफ्ना पितृहरूबाट आशीर्वाद माग्ने पर्व हो।
धान काट्ने समयमा यो पर्व पर्ने भएकाले उनीहरू हुकाहुकीको दिन बिहान खेतमा गएर आफ्नो धान राम्रो फलोस् भनी कामना तथा पूजा गर्दछन्।
यस्तै साँझमा सन्ठी (सनपाटको डाँठ) मा आगो लगाएर आकाशमा आफ्ना पितृ भएको ठान्दै आकाशतर्फ त्यसलाई फाल्दै दादो दादा हुक्काले (हजुरबुवा–हजुरआमा हुक्का लिनुहोस्) भनेर समर्पण गर्ने गरेको यो समुदायका वृद्धवृद्धा बताउँछन् ।
राजवंशीहरुको गरुवासी पाबनीको संरक्षण, प्रवद्र्धन र व्यापक प्रयोग नीतिगत तहबाट पहल गरिनुपर्ने राजवंशी समुदायका अगुवाहरु बताउँछन् ।