सरिता कर्माकार

विराटनगर । तिहारमा ‘रंगोली’ बनाउने चलन अचेल व्यापक बनेको छ । आँगन बीचमा र दैलोअघि आकर्षक एवं रङ्गीचङ्गी फूल तथा रङहरुले बनाइने चित्र रंगोली हो ।

तातो–तातो सेल रोटी, झिलिमिलि बत्ती, दियोको उज्यालो, देउसी-भैलोको आवाज, फूलको वासनाले तिहार रमाइलो हुने गर्छ । यो बेला बनाइने रंगोलीले पनि आकर्षित गर्ने गर्छ ।

सप्तरीकी ५० वर्षीय तिलकी यादवले करिब ३० वर्षदेखि चाड पर्वको बेला रंगोली बनाउँदै आइरहेकी छन् । रंगोली नियम अनुसार बनाउनु पर्छ अनिमात्र पर्वको विशेषता झल्कने उनको भनाइ छ ।

धर्म शास्त्रअनुसार भगवान रामले चौध वर्ष वनबास बस्नुका साथै रावणको वध गरेर अयोध्या नगरी फर्कंदाको खुसीमा दियो सजाएर बालिएको थियो । त्यसैलाई आधार मानेर अचेल घरघरमा रंगोली बनाइन्छ ।

रंगोलीलाई सुख, समृद्धि र खुसीको प्रतीक मानिन्छ । रंंगोली बनाउँदा परम्परा अनुसार सुन्दर र आकर्षक पार्ने ध्यान सबैको हुन्छ ।

रंगोली बनाउँदा कमलको फूलको चित्र मुख्यद्वारमा बनाइन्छ । यसले सकारात्मक ऊर्जा उत्पत्ति गरेर मानिसको मानसिकतालाई सामान्य बनाउँछ । सफा र आकर्षक रुपमा रंगोली बनाएर पूजा आराधना गरे माता लक्ष्मी छिटै प्रसन्न भएर घरमा बास बस्ने विश्वास छ ।

रंगोलीका रंगहरु छुट्टाछुट्टै थालमा राख्नु पर्छ । रंगहरुमा चामल, पिठो, बेसार, भुस जस्ता सामग्रीहरु मिसाएर तयार गर्न सकिन्छ । साँझको बेला आँगनको बीचमा ठूलो आकारमा मयुरको र घरको मुख्य द्वारमा कमल फूलको आकृति बनाइन्छ ।

रातो, हरियो , पहेलो र गुलाबी रंगलाई शुभ र उत्तम रंग मानिन्छ । कालो रंगलाई अशुभ मानिन्छ त्यसैले रंगोली बनाउदा कालो रंग प्रयोग गर्न हुँदैन ।

अचेल बजारमा प्रिन्ट गरिएका रंगोली पनि पाइन्छ । त्यस्तो रेडिमेड रंगोलीभन्दा हातले बनाएकै रंगोलीमा बढी ध्यान जाने गरेको छ । रंगोलीमा कतिपयले स्वस्तिक चिह्न बनाउँछन् भने कतिले गणेशको आकृति बनाउने गरेका छन् ।

यसैगरी कतिपयले विभिन्न कलात्मक रंगोली पनि बनाउँछन् । खासमा कुनै पनि शुभकार्यमा रंगोली बनाइन्छ । यो लोक कलाका रुपमा प्रसिद्ध छ । रंगोली धार्मिक, सांस्कृतिक आस्थाको प्रतीक पनि मानिन्छ । यो आध्यात्मिक प्रक्रियाको एक महत्वपूर्ण अंग पनि हो ।

रंगोलीको एक नाम ‘अल्पना’ पनि हो । अल्पना वात्स्यायनको कामसूत्रमा वर्णित चौसठ्ठी कलामा एक हो । यो अति प्राचीन लोककला हो ।

(प्रशिक्षार्थी)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु