विराटनगर । आफूले चलाउँदै आएको कन्टेनरमा निदाएका चालकमाथि मोरङको सुन्दरहरैँचामा लुटपाट एवं डकैती गर्ने गिरोह प्रहरीको फन्दामा परेको छ ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–४ मा गत असोज ३० गते राति कन्टेनर चालक सिन्धुपाल्चोकको चौतारा घर भएका ४३ वर्षीय रामबहादुर गिरीमाथि लुटपाट भएको थियो । गिरी ना ६ ख ६३९९ नम्बरको कन्टेनरका चालक हुन् ।
सडकमा पार्किङ गरेर सोही कन्टेनरमा सुतेका बेला उनीमाथि लुटपाट भएको हो । ढोका खुला राखेर कन्टेनरको अगाडिको भागमा सहचालक सप्तरीको शम्भुनाथ घर भएका २३ वर्षीय रोशन चौधरीसँगै गिरी सुतेका थिए । निदाएको समयमा ३ जना अपरिचित युवाहरुको समूहले लुटपाट गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार लुटेरा समूहले गिरीले लगाएको २ तोला १३ आनाको सुनको सिक्री, ३ तोला ८ आनाको ब्रासलेट तथा साथमा भएको ४५ हजार नगद, पर्स, मोबाइल र एटीएम कार्ड लुटपाट गरिएको थियो । त्यही घटनामा संलग्न गिरोहलाई इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–९ बैगुनधुराका १९ वर्षीय मुकेश खतिवडा, धनकुटाको महालक्ष्मी नगरपालिका–१ लेगुवाका २२ वर्षीय हेमबहादुर बस्नेत र धनकुटाको खाल्साछिन्ताङ–शहीदभूमि गाउँपालिका–४ का २७ वर्षीय सागर भनिने शरण राई रहेका छन् । लुटपाटमा शरणको संलग्नता यकिन भइसकेको छैन ।
चालक गिरीबाट लुटिएको सुनका गहना सुनसरीको इटहरीस्थित कोठाबाट बरामद भएकाले उनलाई प्रहरीले पक्राउ गरेको हो । लुटपाट गरेको गहना शरणलाई बेचेको हुनसक्ने प्रहरीको अनुमान छ । उनी शुक्रबार राति इटहरीबाटै पक्राउ परेका हुन् ।
डीएसपी श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानबाट लुटपाटको घटनामा भने मुकेश र हेमबहादुरसहित झापाको शिवसताक्षी नगरपालिका–१ का २२ वर्षीय लक्ष्मण बस्नेतको संलग्ना पुष्टि भएको छ । लक्ष्मण अहिले इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा छन् । चोरीको अर्को घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि नै इटहरीबाट पक्राउ गरेर उनीमाथि अनुसन्धान गरिरहेको हो ।
पकलीमा चोरी मुद्दाको अनुसन्धान सकिएपछि लुटपाट घटनामा कारबाही अघि बढाउन लक्ष्मणलाई मोरङ ल्याउने प्रहरीको तयारी छ । अलगअलग घरठेगाना भएका मुकेश, हेमबहादुर र लक्ष्मण मोरङको बलियामा कोठा भाडामा लिएर बस्दै आएको खुलेको छ ।
डेढ महिनादेखि भाडाको कोठामा बस्दै आएका उनीहरुले योजना बनाएरै लुटपाट र चोरी गर्ने गरेको प्रहरीले जनाएको छ । कन्टेनर चालकबाट लुटिएको सिक्री, ब्रासलेट, पर्स, मोबाइल र एटीएम कार्ड प्रहरीले बरामद गरेको छ । नगद भने फेला पर्न सकेको छैन ।
डीएसपी श्रेष्ठका अनुसार पक्राउ परेका मुकेश र हेमबहादुरविरुद्ध डाँका मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको छ ।