विराटनगर । आज कात्तिक ५ गते शनिबार धन त्रयोदशी तथा यमपञ्चक आरम्भको दिन अर्थात् यमराजलाई दीपदान गर्ने र कुवेरको पूजा गर्ने दिन हो ।
घरको बाहिरपट्टि दक्षिणपट्टि फर्काएर नयाँ माटोको पालामा यमराजलाई दियो अर्पण गरी यमपञ्चक अथवा तिहारको विधिपूर्वक सुरुवात र स्वागत गरिन्छ ।
यो विधिले अकाल मृत्यु हुनबाट हामीलाई जोगाउँछ भन्ने मान्यता र विश्वास भएकाले परम्परागत रुपमा उक्त विधि गर्ने गरिएको छ ।
आजैको दिन धन त्रयोदशी अर्थात् धनतेरस पनि परेको छ । यो दिन आफ्नो गच्छेअनुसार आवश्यक सामान, नयाँ भाँडावर्तन वा बहुमूल्य धातु किन्ने प्रचलन छ । यसै दिन कुबेरको पूजा गरिन्छ ।
नेपालीहरुको दोस्रो ठूलो चाड तिहार दसैँको पन्ध्र दिनपछि आउने सबैभन्दा ठूला पर्वहरु मध्ये एउटा चाड हो । यो चाड कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ ।
हिन्दू धर्मावलम्वीले दीपावलीको रुपमा यस पर्वलाई धूमधामसँग मनाउँछन् ।
कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
यस वर्ष यमदीपदान शनिबारदेखि सुरु हुने भए पनि काग तिहार भने आइतबार परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ।
आइतबार बेलुकी ०५ः०४ बजेसम्म त्रयोदशी तिथि छ। त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ। बेलुकी ०५ः०४ बजेपछि चतुर्दशी तिथि लाग्छ। यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको छ। ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो’, उनले भने।
यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। यसैगरी धनत्रयोदशी (धनतेरस) पर्व पनि शनिबार नै परेको छ। धनवन्तरी जयन्ती भने कात्तिक ६ गते आइतबार परेको छ। तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा सोमबार एकै दिन परेको समितिले जनाएको छ।
यमदीपदान परिवारका सदस्य संख्याका आधारमा गरिन्छ। यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ।
कात्तिक ७ गते सोमबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ। बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए। सोमबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ। यसलाई नरक स्नान भनिन्छ। यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ।
गाईपूजा कात्तिक ८ गते मंगलबार परेको छ। गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलिपूजा र आत्म (म्ह) पूजा कात्तिक ९ गते बुधबार परेको छ।
कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ। प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ।
कात्तिक १० गते बिहीबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ। यस दिन बिहान ११ः३७ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले बताए। सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ।