काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रसले नियुक्त भएको ६ हप्तामै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीको खोजी सुरु भएको छ । आगामी साताको अन्त्यसम्ममा सत्तारुढ पार्टीका नेताले भावी प्रधानमन्त्रीको टुङ्गो लगाउने जनाइएको छ । त्यसबेलासम्म ट्रस सत्तामा कायम रहने छिन् ।
बेलायतको इतिहासमा ४५ दिनमै राजीनामा दिएकी उनी सबैभन्दा छोटो समय सत्तामा रहने प्रधानमन्त्री बनेकी छन् ।गम्भीर आर्थिक संकट तथा नीतिगत रुपमा सोच्न नसकिने गरी लिएको ‘यू–टर्न’ का कारण ट्रस विवादित रहिन् । बोरिस जोन्सनले राजीनामा दिएपछि लामो प्रक्रिया पूरा गरेर ट्रस प्रधानमन्त्री बनेकी थिइन् ।
अब नयाँ प्रधानमन्त्रीको खोजीमा कन्जरभेटिभ (ट्रोय) पार्टीका नेता लागेका हुन् । प्रधानमन्त्री बन्न चाहने नेताले ट्रोयका कम्तीमा १०० सांसदको समर्थनमा मनोनयन दर्ता गर्नु पर्नेछ । यसको अर्थ ३५७ सांसद रहेको ट्रोयका तीन नेताले मात्रै उम्मेदवारी दिन सक्ने छन् ।अहिलेसम्म कुनै नेताले पनि आफूले उम्मेदवारी दिने औपचारिक रुपमा बताएका छैनन् । तर सम्भावित उम्मेदवारको सूचिमा यसअघि ट्रससँग पराजित भएका ऋशी सुनक, पेनी मोर्डन्ट, बोरिस जोन्सन, बेन वालस र किमी बाड्नोचसहितका नेताको नाम चर्चामा छ ।
कन्जरभेटिभ पार्टीका केही नेताहरुले सुनकलाई आफ्नो समर्थन रहेको बताइसकेका छन् । ट्रसमाथि प्रश्न गरेकी पेनीलाई पनि भावी प्रधानमन्त्रीका रुपमा हेरिएको छ । यसअघि पनि उनी प्रतिस्पर्धामा थिइन्, तर अन्तिम दुईमा पर्न सकेकी थिइनन् ।
पूर्व प्रधानमन्त्री जोन्सनलाई पनि योपटक उम्मेदवारका रुपमा लिइएको छ । जोन्सनले गत जुलाईमा राजीनामा दिएका थिए ।
रक्षा मन्त्री बेन वालसलाई पार्टीका केही सांसदहरुले सुरक्षित उम्मेदवारका रुपमा लिएका छन् । यस्तै केमीलाई पार्टीभित्र तीव्र गतिमा चर्चा बटुल्दै गएकी नेताका रुपमा लिने गरिएको छ । उनले पनि आउँदो प्रतिस्पर्धामा महत्व राख्ने बेलायती सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।