रस्मी थापा
विराटनगर । तिहार नजिकिएसँगै बजारमा मानिसको चहलपहल बढ्न थालेको छ ।
तर बजारमा मानिसको भीड देखिए पनि माटाको दियो, बत्ती, नाङ्लो, डालो, खुङ्गिया र कुचोको व्यापार उत्साहजनक हुन सकेको छैन ।
विराटनगरस्थित गुर्दी बजारमा तिहारका सामग्री खरिद गर्न सर्वसाधारणको भीड बिस्तारै बढ्न थाले पनि व्यापार खासै नभएको व्यापारी बताउँछन् ।
बजारमा तिहार केन्द्रीत फूल, झिलिमिली बत्ती, दियो, नाङ्लो, डालो, कुचो, भाइमसला, फलफूल, मिठाई लगायत सामग्रीको बिक्री तथा खरिद सुरू भएको छ ।
बजारमा सामान भएपनि मूल्य केही महङ्गो भएकाले बिक्री सन्तोषजनक नरहेको व्यापारी लिलम हलुवाईले बताइन् ।
विगत दुई दशकदेखि माटाको सामग्री बिक्री गर्दै आइरहेकी उनी सामानको खरिद मूल्य नै महङ्गो हुँदै गएकाले बजारमा बिक्री मूल्य केही बढेको बताउँछिन् ।
‘माटाका सामग्री भारतबाट आउँछन्, बाँसका पहाडी क्षेत्रबाट आउँछन् । हाम्रो खरिद मूल्य नै बढी हुन थालेको छ’ हलुवाईले भनिन्, ‘पहिलो जस्तो व्यापार छैन । बजारमा चहलपहल पनि छैन ।’
हलुवाईले तिहार सुरू भएपछि व्यापारले गति लिने अपेक्षा राखेकी छिन् ।
थप तस्बिरहरू
(प्रशिक्षार्थी)