विराटनगर । ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राई यातायात मजदुर ट्रेड युनियनहरुको प्रजातान्त्रिक विश्वव्यापी महासंघ (इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेशन’ को एशिया प्रशान्त क्षेत्रको उपाध्यक्ष चुनिएका छन् ।

फिलिपिन्सको राजधानी मनिलामा १६ देखि १९ अक्टोबरसम्म भएको सम्मेलनबाट राई उपाध्यक्षमा चुनिएका हुन् ।

फेडेरशनसँग आबद्ध रहेका एशिया प्रशान्त क्षेत्रका २५ देशका ट्रेड युनियनका प्रतिनिधि सहभागी भएको सम्मेलनमा उनी उक्त पदका लागि छानिएका हुन् ।

दुई सय १४ प्रतिनिधि सम्मिलित सम्मेलनले जापानका सुमिनो सानलाई अध्यक्षमा चयन गरेको छ । विश्वका एक सय ५० देशमा रहेका सात सय युनियनहरु फेडेरेशनसँग आबद्ध छन् ।

बेलायतको लण्डनमा मुख्यालय रहेको फेडेरेसन सन् १८९६ मा स्थापना भएको हो । यातायात मजदुर ट्रेड युनियनहरुको प्रजातान्त्रिक विश्वव्यापी महासंघका रुपमा यो संस्था परिचित छ ।

विश्वभरका ६७७ युनियनहरु उक्त संस्थामा आवद्ध छन् । फेडेरेशनमा विश्वभरमा करिब दुई करोड सदस्य छन् ।

फेडेरेशनले पानीजहाज, सडक यातायात, रेल यातायात, हवाई यातायात, पर्यटन, बन्दरगाह लगायतका क्षेत्रमा कार्यरत श्रमिकका हक, हितका पक्षमा काम गर्दै आएको छ ।

उक्त सम्मेलनले विश्व स्तरीय बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) बारे घोषणापत्र समेत जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु