विराटनगर । कोसी राजमार्गको विराटनगर–धरान खण्डबाट अलिकति पश्चिम भित्र छिरेपछि एउटा टोल पुगिन्छ । ठूल्ठूला भवन भएको राजमार्गबाट चिल्ला गाडीको ओहोर दोहोर छिचोल्दै उक्त टोल पुगेपछि प्रश्न उब्जन सक्छ– यो महानगर नै हो ?
न गतिलो सडक छ । न खानेपानीको राम्रो सुविधा छ । आधारभूत आवश्यकताका कुराहरुबाट वञ्चित उक्त टोल कुनै दुर्गमको बस्तीजस्तो लाग्छ । विद्यालय जानुपर्ने बालबालिकाहरु दिनभरि धुलो–हिलोमा खेलिरहेका हुन्छन् । त्यसरी खेल्दा उनीहरु बारम्बार बिरामी परिरहन्छन् ।
यो विराटनगर महानगरपालिका–११ मरिक टोलको कुरा हो यो । शुक्रबार भेला भएका टोलका बासिन्दा आफूहरुले भोग्नुपरेका समस्याहरुबारे छलफल गर्दै थिए ।
छलफलमा सहभागी सबैजसोले समस्या प्रस्तुत गरिरहेका थिए। तिनैमध्ये एक थिए ४५ वर्षीय अशोक मरिक । पालो आएपछि उनले पनि आफ्नो ठाउँका समस्या बेलिविस्तार लगाए ।
उनका अनुसार बिजुली, सडक, खानेपानी, सरसफाई, अशिक्षा, बेरोजगारीदेखि लिएर विभिन्न समस्याको चपेटामा मरिक टोल छ ।
अशोकले सुनाएजस्तो मरिक टोलले भोग्दै आएको समस्या आजको होइन । डोम समुदायको बसोबास रहेको महानगरभित्रको यो टोलका बासिन्दा वर्षौदेखि आधारभूत सुविधाबाट वञ्चित छन् ।
‘यहाँका अधिकांशको पेशा सरसफाई हो । म पनि जीविकोपार्जनका लागि सरसफाईकै काम गर्छु,’ अशोक भन्छन्, ‘अनेक समस्यामा हामी रुमलिएका छौँ । जुनसुकै नेतालाई जिताए पनि समाधान हुन सकेन ।’
तर अब भने भोट माग्न आउनेलाई आफ्नो ठाउँमा विकासको प्रतिवद्धता गराएर मात्रै अघि बढ्ने र राम्रो मान्छेलाई चुनाव जिताउने योजना रहेको उनी बताउँछन् ।
स्थानीय चन्दु मरिक रोजगारी नपाउँदा समय त्यसै बितिरहेको बताउँछिन् । अर्का स्थानीय ज्योति मरिक डुमका अनुसार महानगरभित्र भए पनि मरिक टोललाई विकास निर्माणले छुन सकेको छैन ।
‘मेरो कुनै रोजगारी छैन । सुँगुर चराएर समय बिताउँछु,’ उनले भने, ‘टोलमा सबैजसो बेरोजगार छन् । हाम्रो बसोबास रहेको ठाउँमा विकासले पनि बाटो देखेन ।’ ज्योतिले टोलमा सबैभन्दा ठूलो समस्या अशिक्षा र बेरोजगारीको रहेको बताए ।
‘हामी सबै कुराबाट पछि परिरहेका छौँ । राज्यले वास्तै गर्दैन,’ उनले भने, ‘यसअघिको चुनावबाट जितेर जाने नेताहरुले आफ्नो स्वार्थ मात्रै पूरा गरे । हाम्रो समस्या देखेनन् ।’ टोलको अवस्था हेर्दा महानगरभित्र बस्छौँ भन्न पनि लाज लाग्ने अवस्था रहेको ज्योतिले सुनाए ।
टोलमा स्नातकसम्म पढेका पनि धेरैजना छ्रैनन् । स्थानीय अरम मरिक हेल्थ असिस्टेन्ट हुन् । पढाइ सकेर उनी हाल एउटा अस्पतालमा काम गरिरहेका छन् ।
‘टोलका हामी केहीले मात्रै एसएलसी पास गरेका छौँ । धेरैले त पढेकै छैनन् । सबैको पारिवारिक आर्थिक अवस्था एकदमै दयनीय छ,’ स्थानीय विजय मरिकले भने, ‘धेरै कुराबाट हामी पछि परेका छौँ । पिछाडिएका हामीमाथि राज्यको नजर पनि पर्दैन । न त नेताको नै ।’
टोलको अवस्था सुधार्ने भनेर धेरैले आश्वासन नदिएका होइनन् । अझ निर्वाचनका बेला त राजनीतिक दलपिच्छेका नेता, उम्मेदवार र कार्यकर्ता आएर विकास गरिदिन्छौं भन्ने गरेका छन् ।
‘तर अहिलेसम्म कसैले हाम्रो समस्याबाट पार लगाउने काम गरेनन्’ स्थानीय गगन मरिकले भने, ‘भोट फकाउन त्यस्तो भन्छन्, तर जितेर गएपछि कहिल्यै फर्केर आउँदैनन् ।’
दलित भनिने मरिक (डुम) समुदायमा भइरहेको उक्त छलफलका बेला पुगेका थिए प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका नेकपा (एमाले) का युवा नेता पर्शुराम बस्नेत ।
उनी पुग्नासाथ स्थानीय बासिन्दाबाट घेरिए । टोलबासीले उनीसमक्ष सबै समस्या सुनाए । बस्नेतले सबैका कुरा सुने । समस्याहरु सहयोगीहरुलाई टिपोट गर्न लगाए ।
अनि भने, ‘आज संयोग पर्यो तपाईंहरु भेला भएकै बेला आइपुगेछौं । महानगरपालिकाभित्र पर्ने भए पनि यो टोलको अवस्था दयनीय रहेछ ।’
टोलबासीका समस्या हल गर्न आफूले सक्दो प्रयास गर्ने आश्वासन पनि उनले दिए । सडक निर्माणदेखि, स्वास्थ्य, शिक्षालगायत अरु सेवा सुविधा उपलब्ध गराइदिने बाचा उनले गरेका थिए ।
महानगर र खासगरी मोरङ क्षेत्र नम्बर ६ (ख) को समस्या समाधान गर्दै क्षेत्रबासीलाई सुविधा दिने उद्देश्यका साथ प्रदेशसभा सदस्यको निर्वाचनमा सहभागी भएको उनले बताएका थिए ।
‘तपाईंहरुले मलाई साथ दिनुहोस्, म तपाईंहरुका समस्या समाधानमा दिलोज्यान दिएर लाग्नेछु’ उनले भने, ‘यो कुरा मैले चुनावका लागि मात्र भनेको होइन, पछि थाहा पाउनुहुनेछ, जितेर गएपछि पनि म तपाईंहरुकै माझ हुनेछु ।’
मरिक टोल र महानगरका पिछडिएका टोल र बस्तीको समस्याबारे आफू जानकार रहेको भन्दै बस्नेतले प्रदेशसभामा गएपछि ती समस्या समाधानका लागि आफ्नो भूमिका केन्द्रीत हुने पनि उनले उल्लेख गरे ।
मरिक टोलमा १ सय २५ परिवारको बसोबास छ । ४ सय ८० जना रहेकामा बालबालिकाको संख्या १ सय ५० जना बालबालिका छन् ।