गगन नुनिया

विराटनगर । विराटनगरको महेन्द्र चोकस्थित सप्तकोसी डेभलपमेन्ट बैंकमा शुक्रबार बिहान वृद्धवृद्धाको भीड थियो ।

उनीहरु बैंकको शाखामा वृद्ध भत्ता लिन भेला भएका थिए । मोरङको कटहरी ५ का वृद्धवद्धाहरु भत्ता लिनका लागि बैंकको विभिन्न शाखाहरुमा भौंतारिएका थिए ।

उनीहरुले यसअघि गत बैशाखमा बैंकको कटहरी शाखाबाटै भत्ता पाएका थिए ।

यसपटक भने उनीहरु बैंकका शाखा कार्यालयहरु धाउनु परेको हो । सुरुमा कटहरीबाट देवकोटा चोकको शाखाबाट लिन भनेर पठाइएको थियो ।

कटहरी शाखाका कर्मचारीले त्यहाँ वडा ७ का वृद्धवृद्धालाई मात्र भत्ता वितरण भइरहेको भन्दै देवकोटा चोकमा रहेको शाखामा जान भनेका थिए ।

देवकोटा चोकको शाखाका कर्मचारीले फेरि उनीहरुलाई महेन्द्र चोकको शाखामा सम्पर्क गर्न भने ।

त्यसपछि उनीहरु महेन्द्र चोकस्थित शाखा कार्यालय पुगे । त्यहाँबाट पनि भत्ता पाएनन् । कर्मचारीले कटहरी शाखाबाटै भत्ता लिन आग्रह गरे ।

भत्ता लिन बैंकका शाखा कार्यालयहरु धाएको धायै गर्नुपरेको मनिलाल सरदारले बताए ।

कटहरीका वडा ५, ६ र ७ वृद्धवृद्धाका लागि भत्ता प्राप्तिमा वडा कार्यालयले ले समन्वय गर्दै आएको छ ।

बैंकले असोज अन्तिम साता कटहरीस्थित शाखाबाट भत्ता वितरण गर्ने भनेर वडालाई पत्राचार गरेको थियो । वडा कार्यालयलाई पत्र पठाएपछि आफ्नै शाखालाई भने त्यसबारे जानकारी नदिंदा अन्योल भएको हो ।

कात्तिक १ देखि ४ गतेसम्म कटहरी वडा ७ का लागि भत्ता वितरण गर्ने भनिएको थियो ।

यसैगरी कात्तिक १५ देखि २२ गतेसम्म ६ नम्बर बडाका बासिन्दाका लागि भत्ता वितरण गर्ने तालिका बनाइएको थियो ।

यस्तै वडा ५ का वृद्धवृद्धाका लागि कात्तिक २३ देखि २८ गतेसम्म भत्ता वितरण गर्ने कार्यतालिका बनाइएको थियो ।

कटहरी ५ का वडाध्यक्ष सम्पतलाल सरदारले वृद्धाहरुलाई २५ देखि ३० जनालाई बिहीबार भत्ता वितरण गरिएको बताए ।

उनीहरुले वृद्धभत्ता पाएको सूचना थाहा पाएपछि अरु वृद्धवृद्धा पनि भत्ता लिन बैंकको शाखा पुगेका हुन् ।

बैंकका कर्मचारीले साताको अन्तिम दिन शुक्रबार नभ्याआउने कारण देखाउँदै अर्को शाखामा जान भनेका थिए ।

भत्ता लिनका लागि कटहरी शाखामै जान भनेपछि वृद्धवृद्धाहरु भत्ता नपाइ विराटनगरबाट फर्कन बाध्य भएका थिए ।

बैंकका प्रमुख अनन्त गौतमका अनुसार वडासँग समन्वय गरेर वृद्धभत्ता वितरण गर्ने गरिएको छ ।

छठपछि तालिका बनाएर भत्ता वितरण गर्ने योजना भए पनि गाउँपालिकाले तिहार अघि नै वितरण गर्नुपर्ने भनेको उनले उल्लेख गरे ।

(प्रशिक्षार्थी)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु