विराटनगर । मोरङको भाथीगछबाट प्रहरीले शुक्रबार बिहान लागूऔषध गाँजा बरामद गरेको छ ।

लुकाएर राखेको अवस्थामा जहदा गाउँपालिका–२ भाथीगछस्थित बाँस झ्याङमा १५ किलो गाँजा फेला परेको हो । विशेष सूचनाका आधारमा गाँजा नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक महेन्द्र दर्नालको नेतृत्वमा टोली गएको थियो ।

बाँस झ्याङमा लुकाएर राखेको गाँजा बिहान ५ः३० बजेतिर बरामद भएको प्रहरीले जनाएको छ । गाँजा लुकाउने व्यक्तिको पहिचान हुन सकिरहेको छैन । यद्यपि सुरक्षाकर्मीलाई छल्दै नेपालबाट भारततिर अवैध तरिकाले लैजानका लागि बाँस झ्याङमा लुकाएर राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले गाँजा लुकाउने व्यक्तिको खोजी तीव्र पारेर पहिचानको प्रयास भइरहेको बताए । नियन्त्रणमा लिएको गाँजा इलाका प्रहरी कार्यालय रानीमा ल्याएर थप अनुसन्धान अघि बढाइएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु