विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचार संहिताको कार्यान्वयन र पालनाका सन्दर्भमा निर्वाचन आयोगबाट अब हुन लागेको निर्णयले ‘भूकम्प ल्याउने’ बताएका छन् ।

विराटनगरमा शुक्रबार आयोजित प्रदेशस्तरीय सञ्चारमाध्यमसम्बन्धी अभिमुखीकरणलाई सम्बोधन गर्ने क्रममा राजनीतिक दलप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।

निर्वाचनसम्बन्धी कानुनमा आधारित रहेर आयोगले ५–७ दिनभित्रमा केही निर्णय गर्ने उल्लेख गर्दै उनले थपलियाले ‘त्यो निर्णयले भूकम्प नै ल्याउन सक्छ ।’ आचारसंहिता पालना गराउन आयोग कडा रुपमा प्रस्तुत हुने भन्दै उनले उल्लंघनलाई टुलुटुलु हेरर बस्न नसकिने बताए ।

आफैँले बनाएको कानुन उल्लंघन गर्ने अधिकार कसैलाई पनि नभएको उल्लेख गर्दै थपलियाले भने, ‘आफैँले दस्तखत गरेर बनाएको कानुन उल्लंघन गर्न नहिचकिचाउने परिपाटी छ । एउटा स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाउने प्रवृति छ।’

उनको उक्त भनाइ नेकपा एकीकृत समाजवादीका नेता माधवकुमार नेपालमाथि लक्षित थियो ।

आचारसंहिता उल्लंघन गरेर चुनावी प्रचार गरेको भन्दै नेपाललाई कारबाहीका लागि आयोगले रौतहट प्रहरीलाई लिखित निर्देशन दिएको छ । त्यसबारे टिकाटिप्पणी हुन थालेपछि आचारसंहिता उल्लंघनलाई टुलुटुलु हेरेर बस्न नसकिने भन्दै उनले यस्तो बताएका हुन् ।

‘एउटा स्पष्टीकरणले तरंग ल्याएको छ,’ उनले भने, ‘कानुन र नियम मानेर तथा पद्धतिमा बसेर अबको केही दिनभित्रमा आयोगले गर्ने निर्णयले त भूकम्प नै ल्याउँछ ।’

कानुनको कार्यान्वयनका लागि आयोगले कसैलाई पनि सोध्न आवश्यक नरहेको उल्लेख गर्दै थपलियाले भने, ‘‘कसैलाई कारबाही गर्नु पर्दा आयोग खुसी हुँदैन, तर के गर्नु कानुन नै मिचेपछि बाध्य हुनुपर्छ ।’

सामाजिक सञ्जालको दुरुपयोग गर्दै मिथ्या र भ्रामक सूचना दिने तथा सामाजिक विखण्डन ल्याउने खालका प्रयास नगर्न उनले आग्रह गरे । ‘निर्वाचनप्रति मतदाताको आकर्षण बढाउनुपर्नेमा जोड दिएका थपलियाले हरेक नागरिकलाई छान्ने र छानिन पाउने अधिकार रहेको उल्लेख गरे ।

‘राजनीतिक दलबाटै शासन खोज्नुपर्ने संवैधानिक व्यवस्था छ’ उनले भने, ‘कसलाई चुन्ने भन्ने विषयमा नागरिकको मत निर्णायक हुन्छ ।’

राजनीतिक दलका घोषणापत्रका बारेमा पनि बहस चलाइदिन संचार माध्यमलाई आग्रह पनि गरेका छन् । साथमा मतदाता परिचय पत्र नभएका, तर निर्वाचन आयोगको सूचीमा नाम समावेस भएकाले समेत मतदान गर्न पाउने जानकारी उनले दिए ।

नागरिकता, धनीपूर्जा, राष्ट्रिय परिचय पत्र वा आधिकारिक निकायबाट जारी भएका फोटोसहितको परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था आयोगले गरेको जानकारी उनले दिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले शान्तिपूर्ण हिसाबले निर्वाचन सम्पन्न गर्न केन्द्रीय सुरक्षा योजना अनुसार नै जिल्लास्तरीय सुरक्षा योजना बनाएर लागू गरिएको जानकारी दिए ।

निर्वाचन अधिकृतको कार्यालय, राजनीतिक दलका कार्यक्रम, निर्वाचनमा खटिने कर्मचारी र मतदाताको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको दाहालले बताए ।

28
Shares
४ कार्तिक २०७९, शुक्रबार १२:००