काठमाडौं । लिम्बु जातिमा पर्ने फागोहरुको विस्तृत जानकारीसहित तयार पारिएको ‘फागो यक्युक वंशावली’ पुस्तक सार्वजनिक गरिएको छ । अनिता यक्युक लिम्बुले उक्त वंशावली तयार पारेकी हुन् ।
किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम यक्तेन, इतिहासविद भगिराज इङनाम, लेखक कृष्णविक्रम नेम्बाङलगायतको पुस्तक सार्वजनिक गरेका थिए ।
अनुसन्धाताका अनुसार लिम्बु जातिभित्र तीन सयभन्दा बढी थर, वंश छन् । सार्वजनिक गरिएको पुस्तक लिम्बु जातिको ६४औं वंशावली हो । फागो यक्युक वंशावली निर्माण समितिले प्रकाशन गरेको हो ।
इतिहासविद् इङ्नामले नेपालकै वंशावली लेखन इतिहासमा एक महिलाद्वारा लिखित पहिलो वंशावली भएको बताए । यो वंशावलीलाई लिम्बु समुदायको वंशावली लेखन परम्परामा खास वंशावलीमा हुनुपर्ने विषयवस्तु समेटिएको सटिक वंशावली रहेको उल्लेख गरे ।
फागो यक्युक लिम्बुहरूको ऐतिहासिक तथा पुर्ख्यौली थलोहरू, गढीगौडाका फोटोसमेत समेटिएका छन् ।