विराटनगर । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएपछि मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ ।

विराटनगरको हाटखोलास्थित कारागारमा कैद भुक्तान गरिरहेका मोरङको केराबारी गाउँपालिका–१ का ५० वर्षीय डिकबहादुर विकको मृत्यु भएको हो । कारागारका निमित्त जेलर तुलसीराम भगतका अनुसार मुटु तथा पेटको समस्या देखिएपछि नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा बिहीबार साँझ ५ बजेतिर मृत्यु भएको हो ।

उच्च रक्तचापको पुरानै समस्या रहेका विक अचानक बिरामी परेपछि सुरुमा कोसी अस्पताल भर्ना गरिएको थियो । कोसीले थप उपचारका लागि नोबेल रेफर गरेको हो । जिल्ला अदालत मोरङले जबरजस्ती करणी मुद्दामा विकलाई २०७४ चैत ८ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो ।

कैद २०८३ साल पुस २ गतेसम्ममा भुक्तान भइसक्ने थियो । शव परिवारको जिम्मा लगाइसकिएको कारागारले जनाएको छ । मोरङ कारागारमा हाल १ हजार ७४ जना कैदी बन्दी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु