विराटनगर । पूर्वका विभिन्न जिल्लामा भारतबाट आयात हुने अस्वस्थकर माछाको प्रयोग बढेको छ ।
भन्सार नाकाहरुमा आधुनिक प्रविधियुक्त परीक्षणको व्यवस्था नभएकाले अस्वस्थकर माछा भित्रने गरेको हो ।
विराटनगर भन्सार नाका हुँदै भित्रने भारतीय माछा पशु क्वारेन्टाइन कार्यालयमा परीक्षण नभइ बजार पुग्ने गरेको छ ।
उक्त कार्यालयमा रहेका कर्मचारीले परीक्षण नगरी हेरेकै भरमा आयातको अनुमति दिने गरेका छन् ।
कुनै प्राविधिक परीक्षण बिना आयातको अनुमति पाएपछि ठूलो परिमाणमा अस्वस्थकर माछा भित्रने गरेको हो ।
आयात हुने मरेका माछा नबिग्रियोस् भनेर फर्मालिन नामक विषादी प्रयोग गरिएको पाइएको छ ।
यो विषादी मानव स्वास्थ्यका लागि हानीकारक रहेको चिकित्सकहरुले बताउँदै आएका छन् ।
विराटनगर नाकाबाट अघिल्लो आर्थिक वर्षमा करिब दुई हजार मेट्रिकटन भारतीय माछा आयात भएको तथ्यांक छ ।