विराटनगर । खेतीयोग्य जमिनमा जथाभावी रासायानिक मल प्रयोग बढ्दा प्रदेश १ का जिल्लाहरुमा माटोको उर्वराशक्ति खस्कँदै गएको पाइएको छ ।
क्षेत्रीय माटो परीक्षण प्रयोगशालाले दशकयता गरेको माटो परीक्षण प्रतिवेदनले उर्वराशक्तिसँगै कृषि उपज उत्पादन प्रभावित बनेको जनाएको छ ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०६५/६६ मा ६६ प्रतिशत अम्लियपन रहेकोमा आर्थिक वर्ष २०७५/७६ मा बढेर ७० प्रतिशत पुगेको छ ।
प्रदेश १ का विभिन्न जिल्लाको माटोमा अम्लियपन बढेको र प्राङगारिक पदार्थ घट्दै गएका कारण उत्पादन समेत कम हुन थालेको प्रयोगशालाका माटोविज्ञहरुले बताएका छन् ।
प्रयोगशालाले २ सय ५० नमुना माटो संकलन गरी परीक्षण गरेको थियो । ७० प्रतिशत अम्लियपन भेटिएको थियो ।
बालीको सघनता बढ्नु र असन्तुलित मलखाद प्रयोगले माटो बिग्रँदै गएको विज्ञहरुको भनाई छ ।
यो अवस्थालाई सुधार गर्न किसानहरुलाई माटो र खेतीका क्रममा प्रयोग गरिने मलखादसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने विज्ञहरुले औंल्याएका छन् ।