विराटनगर । मंसिर ४ गते हुने आम निर्वाचनका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकले अनुगमन गर्ने भएको छ । सञ्जालमा प्रयोग हुने निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गरिने भएको हो ।

फेसबुकको मातृसंस्था ‘मेटा’ ले नेपालमै कर्मचारी परिचालन गरीनिर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गर्ने भएको हो ।

निर्वाचनसम्बन्धी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउने जोसुकैलाई निर्वाचन आयोग र मेटाले कडा अनुगमन गरी कारबाही गर्ने जनाइएको छ।

यसअघि नेपालमा फेसबुकमार्फत गलत सूचना सम्प्रेषण हुने गरेको र नेपालमै फेसबुक, युट्युब, ट्विटरलगायतका सामाजिक सञ्जाल दर्ता हुनुपर्ने कुराले चर्चा पाएको थियो।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकको मातृसंस्था मेटा र निर्वाचन आयोगले बिहीबार सञ्चारकर्मीलाई लक्षित गरेर तालिम आयोजना गरेको थिजयो ।

उक्त भर्चुअल तालिम ‘सेफ्टी ट्रेनिङ फर जर्नालिस्ट’मा मेटाका प्रतिनिधिले निर्वाचनपछि पनि मेटाले नेपालका सामग्रीलाई अनुगमन गर्ने र फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपलाई अझै व्यवस्थित गर्ने जनाएका छन्।

मेटाका दक्षिण एसिया निर्देशक सरिम अजिजले फेसबुकमा रहेका सामग्रीलाई सत्यतथ्य, सभ्य, द्वेषरहित र पठनीय बनाउन आफूहरू लागिपरेको बताए ।

उनले भने, ‘हाम्रो टोलीले नेपालको निर्वाचनलाई नजिकबाट हेरिरहेको छ। मेटाअन्तर्गत सञ्चालित फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा सेयर हुने सामग्रीलाई अझै गुणस्तरीय र पठनीय बनाउन हामी यहाँ आएका हौँ।’

उनले पत्रकारले विशेष गरी फेसबुक चलाउँदा ध्यान दिनुपर्ने, असामाजिक र मिथ्या सूचना रोक्न पहल गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु