काठमाडौं । वातावरण विभागले शुक्रवारदेखि प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात र बिक्री वितरण गरिएकाे पाइए कारबाही गर्ने भएकाे छ ।
तिहार र छठको मुखमा सरकारले सूचना जारी गर्दै प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री र वितरणमा रोक लगाएकाले नियमविपरीत बिक्री वितरण गरिए वातावरण संरक्षण ऐन अनुसार कारबाही गर्ने भएकाे हाे ।
वातावारण विभागका महानिर्देशक नारायण घिमिरेका अनुसार भाेलिबाट बजार अनुगमन गरिने र साे कार्यलाई रोक्न माइकिङ गरिने छ ।
सरकारले गत साउनमा राजपत्रमा प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री, वितरण र भण्डारणमा रोक लगाएको भन्दै बिहीवारको सूचनामार्फत सचेत गराइएको उनले बताएका छन् ।
तिहार र छठ नजिकिएसँगै बजारमा प्लाष्टिकजन्य फूलमालाहरु बिक्री बढ्ने भएकाले त्यसलाई रोक्न सरकार लागि परेको छ । यसका लागि सरकारले गत साउनदेखि नै प्लाष्टिकजन्य फूलमालाहरुको आयतामा प्रतिबन्ध लगाइसकेको छ ।
‘तिहार र छठजस्ता पर्वहरुमा प्लाष्टिकजन्य फूलमाला प्रयोग नगर्न नेपाल सरकारले सबैलाई आग्रह गरिसकेको छ’ महानिर्देशक घिमिरेले भने, ‘तर आग्रहलाई बेवास्ता गर्दै बजारमा बिक्रीवितरण गरेको पाइए तत्काल कारबाही गरिन्छ ।’
अनुगमनका क्रममा सरकारको निर्णय विपरित कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम १५ हजार देखि २० हजार रुपैयाँसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम १ लाख रुपैयाँसम्म जरिवाना हुने विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
सरकारले प्लाष्टिकजन्य फूलमालाहरु आयातमा नै प्रतिबन्ध गरिसकेकाले त्यस्ता वस्तु बजारमा देखिएमा बिक्री गर्ने साना व्यापारी र सामान ल्याउने स्रोत पहिचान गरि दुवैलाई कारबाही गरिने महाशाखाले बताएको छ ।