मोरङको जहदा ३, जयरामपुरमा धानी काट्दै स्थानीय बासिन्दा । तस्बिरः सतिसकुमार/एएमजी टाइम्स

सतिसकुमार राजवंशी

विराटनगर । प्रदेश १ मा धान उत्पादनमा वृद्धि हुन सक्ने अनुमान गरिएको छ । गत वर्ष भलबाढीका कारण ठूलो क्षेत्रफलको धानबाली नष्ट हुँदा उत्पादनमा कमी आएको थियो ।

कृषि विभाग निर्देशनालयका सूचना अधिकारी सरस्वती श्रेष्ठले आर्थिक वर्ष ०७८/७९ मा ३ लाख ३१ हजार ८८ हेक्टरमा धान रोपाईँ भएको बताइन् ।

धान उत्पादन हुने क्षेत्रको यो ९७.१ प्रतिशत रहेको श्रेष्ठले बताइन् । गत वर्ष ३ लाख ३६ हजार १ सय २२ हेक्टर (९८.६२) प्रतिशत क्षेत्रमा धान लगाउँदा ५८ हजार ९ सय २० हेक्टरको धानमा प्राकृतिक प्रकोपले आंशिक क्षति भएको श्रेष्ठले बताइन् ।

गत वर्षको तुलनामा धान रोपेको क्षेत्रफल ५ हजार ३४ हेक्टरले घटेको भए पनि यसपटक पहिले जति क्षति नभएकाले धानको उत्पादन बढ्ने अनुमान गरिएको हो ।

तथ्यांक संकलनको काम भइरहेको उल्लेख गर्दै कार्यालयले समग्रमा प्रदेशभर यसपालि उत्पादन बढ्ने संकेत देखिएको जनाएको छ ।

३ कठ्ठामा धान खेती गर्ने सुन्दरहरैँचाका कृषक मूलाधन राईको यसपालि डेड कठ्ठा धानबाली पैनीले बगाएको थियो ।
चैते धान लगाएका राईले डेढ कठ्ठा बगाउँदा समेत समग्रमा आफ्नो र अन्य कृषकको विगतको भन्दा राम्रो उत्पादन भएको बताउँछन् ।

‘बाढीले यसअघि कतिपय क्षेत्रमा पुरै खेत नष्ट पारेको थियो, काटेको धान सर्लक्कै पैनीले बगाएर लग्यो’ उनले भने, ‘ बाँकी धान लडायो र लडेको धानमा बोट उम्रन थालेपछि काटेर सुङगुरको चारो मात्र बन्यो।’

जहदाका ३ का महेन्द्र राजवंशीले पनि यसपालि पानीले धेरै क्षति नगरेको बताए । गत वर्ष ८ कठ्ठा धानबाली नष्ठ भएको राजवंशीको यसपालि भने क्षति भएन । राजवंशीले २ विघामा धान खेती गर्दै आएका छन् ।

प्रदेश १ मा अघिल्लो वर्ष वर्ष ३ लाख ३२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदा १३ लाख ११ हजार टन उत्पादन भएको थियो ।

गत आर्थिक वर्षमा ३ लाख ३६ हजार हेक्टरमा धान खेती गरिएकोमा १२ लाख ८२ हजार टन मात्र उत्पादन भएको थियो । निरन्तर वर्षा भएकाले धानबालीमा क्षति पुग्दा उत्पादन प्रभावित भएको थियो ।

स्वदेशमा धान उत्पादन घट्दै गएपछि भारतबाट हुने आयात परिमाण बढिरहेको छ । विराटनगर भन्सार कार्यालयका अनुसार गत वर्ष साउनदेखि मंसिरसम्ममा जोगबनी नाकाबाट १ अर्ब १२ करोड ७३ लाख ६६ हजार मूल्य बराबरको ४० हजार ६ सय ४१ टन धान र ८३ करोड ८३ लाख ८८ हजार मूल्य बराबरको १७ हजार ८ सय ३७ टन चामल आयात भएको छ ।

झापा, मोरङ र सुनसरीमा प्रधानमन्त्री एकीकृत कृषि परियोजना अन्तर्गत धान जोन कार्यक्रम पनि लागू गरिएको छ । झापामा अघिल्लो वर्ष ८५ हजार ७ सय ५० हेक्टरमा धान रोपाई हुँदा ४ लाख १५ हजार ६ सय २५ टन उत्पादन भएको थियो ।

गत आर्थिक वर्षमा करिब दुई हजार हेक्टरमा रोपाई गर्दा ४ लाख २३ हजार टनमात्र उत्पादन भएको तथ्यांक छ ।मोरङमा गत वर्ष ८२ हजार ४ सय ६७ हेक्टरमा ३ लाख ३८ हजार टन उत्पादन भएको थियो ।

सुनसरीमा पनि गत वर्ष अघिल्लो वर्षको भन्दा २३ हजार टन धान उत्पादन घटेको थियो । अघिल्लो वर्ष सुनसरीमा ५३ हजार ९ सय हेक्टरमा २ लाख ३० हजार टन धान उत्पादन भएको थियो । गत आर्थिक वर्ष भने त्यति नै क्षेत्रफलमा २ लाख ७ हजार टन धान उत्पादन भएको प्रदेश कृषि मन्त्रालयको तथ्याङक छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु