तस्बिर साभारः खेलपाटी

विराटनगर । पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ को टोली १० स्वर्णसहित ७९ पदक हासिल गर्दै पदक तालिकाको छैटौं स्थानमा उक्लिएको छ।

प्रतियोगितामा प्रदेश नम्बर १ को सहभागिता सन्तोषजनक रहेको प्रदेश १ खेलकुद बिकास बोर्डले जनाएको छ।

बोर्डका सदस्यसचिव हंशराज वाग्लेले विभिन्न आरोह अवरोहका बाबजुद नवौमा खेलाडीको प्रदर्शन र टोली पदक तालिकाको छैटो स्थानमा रहनु सन्तोषप्रद रहेको बताए ।

एएमजी टाइम्ससँग संवाद गर्दै सदस्य सचिव वाग्लेले पदक नतिजामा सन्तुष्ट हुने अवस्था नभएपनि समग्रमा खेलाडी र प्रशिक्षकको लगन र मेहनतबाट बोर्ड उत्साहित भएको बताए ।

उनले भने, ‘खेलकुदमा खेलाडीले पदक जित्नै पर्छ। त्यसका लागि हामी सबैले अपेक्षा गरेका हुन्छौं तर त्यसका लागि कति र कसरी लगानी गरेका छौं भन्ने हेर्नुपर्छ । हामी शून्य लागानीबाट अघि बढेका थियौं। प्रदेश सरकारले पछि राम्रो सहयोग गर्यो।’

उनले यसपटक भएका कमी कमजोरीलाई आगामी दिनमा समीक्षा गर्दै प्रदेश सरकारबाट प्राप्त बजेटलाई खेलाडीको सहभागिता र प्रदर्शन हेरिकन अघि बढ्ने जानकारी दिए ।

सफ्ट टेनिसमा तीनवटा स्वर्णपदक जित्ने योकेश योञ्जनसहितको टिम ।

दक्ष जनशक्तिको अभाव, खेलाडीको तयारीमा कम समय लगायतले समग्रमा प्रभाव पारेको उनको भनाई छ । प्रभाव र पहुँचको आडमा खेलकुद चल्न नहुनेमा जोड दिदै सदस्यसचिव वाग्लेले भने, ‘हामीले सामूहिक खेलमा बलबुताले भ्याएसम्म राम्रै लगानी गर्यौं । पदक प्राप्त गर्छौ भन्ने धेरै कल्पना नि गर्यौ। तर नतिजा सोचेजस्तो आएन । कराते, तेक्वान्दो, फुटबल, भलिवलमा आशा थियो तर पदकबिहीन अवस्थाले खस्कियौं। यसमा पक्कै सुधार हुनेछ ।’

यसअघि, आठौं खेलकुदमा ९ स्वर्णसहित ८७ पदक जोडेर सातौं स्थानमा रहेको प्रदेश १ यसपटक १० स्वर्णसहित ७९ पदकसहित छैटौं स्थानमा उक्लिएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) बाट नेपाली खेलाडी नै मैदानमा उत्रिँदा त्यसको गरिमा नरहने बोर्डको बुझाई छ । सबै कुराबाट सुसज्जित रहेका तीन विभागीय टोलीसँग स्पर्धा गर्नु चुनौतीपूर्ण रहने गरेको छ ।

प्रदेशका लागि सफ्ट टेनिसमा तीनवटा स्वर्ण जितेका मोरङका युकेश योञ्जन राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न त्यही अनुसारको तयारी हुनुपर्नेमा जोड दिन्छन् ।

उननले भने, ‘राष्ट्रिय खेलकुदमा स्वर्णपदक हात पार्ने सबै खेलाडीको चाहना हुन्छ । तर मेहनत गर्नुपर्छ। खेलाडीलाई पनि सम्बन्धित निकायले हेर्नू पर्छ। समयसमयमा खेलकुदका गतिविधि गरिरहनुपर्छ। जसले गर्दा हामीपनि जस्तोसुकै अवस्थामा विपक्षीसँग भिड्न तयार हुन्छौं।’

योञ्जनको ३ स्वर्णसँगै पौडीतर्फ विकास कुमालले २, आइटिएफ तेक्वान्दोतर्फ कुसुम राजवंशी, रोशन मगर, वीरबहादुर तामाङ, बक्सिङतर्फ तृषा जगेबु, शारीरिक सुगठनतर्फ अवतार श्रेष्ठले समान १ स्वर्णपदक प्रदेश १ लाई दिलाए ।

पदक तालिकाको छैटोस्थानमा उक्लिएको प्रदेश १ ले सुदूरपश्चिम प्रदेश, एनआरएनए, मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशलाई पछाडि राखेको छ ।

प्रदेश १ ले १० स्वर्ण, २२ रजत र ४७ कास्य गरी ७९ पदक हासिल गरेको छ। पहिलोस्थानमा रहेको त्रिभुवन आर्मी क्लबले १६४ स्वर्ण, १०३ रजत र ८५ कास्यसहित कुल ३५२ पदक जोडेर पहिलो स्थानमा छ।

पहिलो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबले १७२ स्वर्ण, १०९ रजत र ८९ कास्यसहित  ३७० पदक जोडेको छ।

एपीएफले ६५ स्वर्ण, ७३ रजत र ८१ कास्य पदकसहित २ सय १९ पदक जितेको छ ।

अर्को विभागीय टिम पुलिसले ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य सहित कुल १९५ पदक जित्दै तेस्रो स्थान हासिल गर्यो ।

यसैगरी गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य सहित कुल १२० पदक जित्दै चौंथो र बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य पदक सहित कुल १४५ पदक जितेर पाँचौं स्थानमा रह्यो।

सुदूरपश्चिमले १० स्वर्ण, १० रजत ४३ कास्यसहित ६३ पदक जितेर सातौं स्थानमा रह्यो ।

एनआरएनएले १० स्वर्ण, ९ रजत र ७ कास्य पदक सहित २६ पदक जितेर आठौं, लुम्बिनी प्रदेश ६ स्वर्ण, २२ रजत र ४० कास्य सहित ६८ पदक जितेर नवौं स्थान हासिल गर्यो ।

त्यसैगरी, दशौँ स्थान हासिल गरेको मधेश प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कास्यसहित ३९ पदक जित्दा पुछारमा रहेको कर्णाली प्रदेशले २ स्वर्ण, ४ रजत, १२ कास्य पदकसहित १८ पदक हात पार्यो ।

यससँगै नवौं राष्ट्रिय खेलकुदलाई बिदाई गर्दै २०८१ सालमा कर्णाली प्रदेशले १०औँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु