विराटनगर । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले स्वर्ण पदक जितेको छ । म्याग्दीको बेनीमा बुधबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले स्वर्ण जितेको हो ।
एपीएफले पहिलो सेट २५–१९ ले जित्दै अग्रता बनाएको थियो भने प्रतिस्पर्धात्मकरूपमा दोस्रो सेट पनि ३०–२८ ले जितेको थियो ।
तेस्रो सेटमा भने पुलिस क्लबले पुनरागमन गर्दै ट्राइब्रेकरमा २६–२४ ले आफ्नो पक्षमा पारेको थियो । तर चौथो तथा अन्तिम सेट भने एपीएफले २५–१९ ले आफ्नो पक्षमा पार्दै स्वर्ण जित्यो ।
यसैगरी अर्को खेलमा बाग्मती प्रदेशले गण्डकीलाई हराउँदै कास्य जितेको छ । बाग्मतीले गण्डकीलाई ३–१ को सेटमा पराजित गरी कास्य पदक जितेको जिल्ला भलिबल सङ्घ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिए ।
उक्त खेलमा पहिलो सेट गण्डकीले २५–२० ले बाग्मतीलाई जितेको थियो भने त्यसपछि लगातार तीन सेट बाग्मतीले २५–१२, २५–२१ र २५–१७ ले जितेको थियो ।
महिला भलिबलको फाइनल खेलसँगै म्याग्दीमा खेलाइएको भलिबल र तेक्वान्दो प्रतियोगिता सकिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजयी बनेका क्लब तथा खेलाडीलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको छ । गत असोज २७ गतेदेखि म्याग्दीको सदरमुकाम बेनी बजारमा रहेको खुलामञ्चमा महिला भलिबल र कालीपुलको बहुउद्देश्यीय कभर्ड हलमा तेक्वान्दो प्रतियोगिता सुरु भएको थियो ।
राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सात वटा प्रदेश र विभागीय टिम गरेर १० वटा टिमले सहभागिता जनाएका थिए भने तेक्वान्दो प्रतियोगितामा सात प्रदेश, विभागीय र एनआरएनएसहित ११ वटा टिमको सहभागिता थियो ।