सरिता कर्माकर

सडक पार गर्न सहज होस् भनेर बनाइएका जेब्रा क्रसिङमा जथाभावी पार्किङ गरिन थालिएपछि पैदल यात्रीहरुलाई आवतजावतमा नै समस्या पर्न थालेकाे छ ।

प्रदेश १ काे राजधानी विराटनगरका व्यस्त सडकमा दैनिक यस्ता समस्यासँग जुधेर यात्रा गर्न आफूहरू बाध्य भएकाे सडक किनारमा भेटिएकी पैदल यात्री देवी यादवले एएमजी टाइम्ससँग गुनासाे पाेखिन् ।

काेसी राजमार्गअन्तर्गत विराटनगर-धरान सडक खण्ड र विराटनगर महानगरपालिकाका भित्री सडकमा सार्वजनिक तथा निजी सवारी साधनहरू जथाभावी राेकिँदा दुर्घटनाकाे जाेखिम समेत बढेकाे छ ।

विराटनगर महानगर क्षेत्रकै व्यस्त मानिने महेन्द्र चोकका दुई स्थानमा जेब्रा क्रसिङ बनाइएका छन् । तर पैदलयात्रीलाई सहज हाेस् भनेर बनाइएका जेब्रा क्रसिङ यात्रु चढ्ने र ओर्लने स्थान भएका छन् ।

जेब्रा क्रसिङमा राेकिएकाे बस

‘जेब्रा क्रसिङ साधन रोकेर राख्ने, पार्किङ गर्ने, यात्रु चढाउने र ओर्लने स्थान बनाइएकाे छ’ पैदलयात्री यादवले भनिन्, ‘जेब्रा क्रसिङमा उभिँदा समेत गाडीकाे स्पिड घटाउँदैनन् । ज्यान जाेखिममा राखेर बाटाे तर्नु पर्छ ।’

महानगर क्षेत्रभित्र ट्राफिक प्रहरीको न्यून उपस्थितीका कारण सवारी साधनहरु मनपरी ठाँउमा रोकेर राखिनुका साथै सडक पेटीहरुबाट कुदाइने गरिएकाे छ ।

सडकपेटीमा कुदाइएकाे रिक्सा

ट्राफिक नियम मिचेर सवारी कुदाउँदा र जथाभावी रोक्दा सडकमा जामकाे समस्या देखिएकाे व्यवसायी सुरज बज्राचार्यले बताए ।

महानगर र जिल्लाभरिका सडकमा सवारीसाधनकाे व्यवस्थापन गर्न ट्राफिक प्रहरी लागि परेकाे भएपनि जनशक्ति कम हुँदा समस्या पूर्ण रूपमा हल हुन नसकेकाे माेरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले बताए ।

‘जनशक्ति अभावका कारण हामी ट्राफिक व्यवस्थापनकाे पाटाेमा केही चुकिरहेकाे सत्य हाे । यसमा ट्राफिक प्रहरी एक्लैले केही गर्न सक्दैन । हामीलाई नागरिककाे सहयाेगकाे पनि आवश्यकता पर्छ’ प्रहरी निरीक्षक कार्की भन्छन्, ‘सवारी साधन कुदाउँदा, राेक्दा, माेड्दा, लेन परिवर्तन गर्दा र पार्किङ गर्दा आमनागरिकले ट्राफिक नियमकाे पालना गरिदिए ट्राफिक र भीड व्यवस्थापनमा धेरै सहज हुन्छ ।’

जेब्रा क्रसमा जथाभावी पार्किङ गर्ने र राेक्ने साधनलाई व्हिल लक लगाएर कडाइका साथ जरिवाना गरिरहेकाे र यसले समस्या समाधानमा आंशिक सहयाेग गरे पनि व्हिल लक र जरिवाना ट्राफिक व्यवस्थापनकाे पूर्ण समाधानका उपाय नभएकाे कार्की बताउँछन् ।

‘नियमविपरीत मनपरी ठाँउमा रोकेर राख्ने साधनहरुमा व्हिल लक लगाउनुको साथै ५०० देखि पन्ध्रसम्मको जरिवाना लिने गरेका छाैँ’  प्रहरी निरीक्षक कार्की भन्छन्, ‘त्यसबाहेक नियम विपरीत जानेहरुलाई कक्षा संचालन गरेर जनचेतना र सवारी साधन कुदाउँदा ध्यान दिनु पर्ने कुराहरु सिकाउँछाैँ ।’

ट्राफिक व्यवस्थापनकाे समस्या समाधानका लागि आमनागरिक र ट्राफिक दुवै मिलेर गएमात्र सहज हुनेतर्फ सबैले ध्यान दिन कार्कीले विशेष अनुराेध गरेका छन् ।

पार्किङ क्षेत्र नहुँदा समस्या

प्रदेश राजधानी रहेकाे विराटनगर महानगरले आफ्नाे क्षेत्रभित्र निश्चित पार्किङ क्षेत्र नताेकिदिएकाले विराटनगरकाे ट्राफिक व्यवस्थापनमा समस्या भएकाे प्रहरी निरीक्षक कार्कीले बताए ।

‘बढ्दाे जनसंख्या र वर्तमान आवश्यकताका कारण दिनहुँ सवारी साधन बढिरहेकाे छ तर त्यस अनुरूप महानगरले पार्किङ क्षेत्रकाे व्यवस्थापन गर्न सकिरहेकाे छैन’ कार्कीले भने, ‘सीमित जनशक्ति प्रयाेग गरेरै भएपनि हामीले महानगर र समग्र जिल्लाकै ट्राफिक व्यवस्थापन चुस्त राख्ने प्रयास गरिरहेका छाैँ ।’

चाडपर्वकाे समयमा मादकपदार्थ सेवन गरेर सवारी कुदाउँदा दुर्घटना हुने सम्भावना अधिक हुने भन्दै उनले ट्राफिक नियमकाे पालना गर्दै सुरक्षित रूपमा रमाइलाे तरिकाले चाडपर्व मनाउन आग्रह गरेका छन् ।

(प्रशिक्षार्थी)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु