दिल्ली । मल्लिकार्जुन खड्गेले भारतीय काग्रेस पार्टीको अध्यक्षको चुनावमा बाजी मारेका छन् । प्रतिस्पर्धी शशि थरुरलाई ५ हजार आठ सय २५ मतले पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्ष पदका लागि जम्मा खसेको ९ हजार ३ सय ८५ मतमध्ये थरुरले जम्मा एक हजार ७२ मत मात्रै प्राप्त गरे । खड्गेले कुल ७ हजार आठ सय ९७ मत प्राप्त गरेपछि उनको जित निश्चित भएको हो । मतदानमा खसेका ४ सय १६ मत रद्द भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

८० वर्षीय खड्गे कर्नाटक राज्यका राज्य सभाका वर्तमान सांसद हुन् । खड्गे काग्रेसको दुई दशक यता गान्धी परिवार बाहिरका पहिलो अध्यक्ष हुन् । उनी एक सय ३७ वर्ष लामोे इतिहास बोकेको कांग्रेस पार्टीको छैटौं अध्यक्ष हुन् ।

सोनिया गान्धी, राहुल गान्धीसहित कांग्रेसका वरिष्ठ नेताहरूले खड्गेको उम्मेदवारीलाई समर्थन गरेकाले उनले चुनाव सहज रुपमा जित्ने अनुमान पहिलेदेखि नै गरिएको थियो ।

दलित समुदायका खड्गे कर्नाटका राज्यका बासिन्दा हुन् । उनी १९४२ मा बिदार जिल्लामा जन्मिएका थिए । उनको हुर्काइ भने छिमेकी जिल्ला गुलवार्गमा भयो । कानुनको अध्ययन गरेका उनी मजदुर संगठनको प्रतिनिधिको रुपमा राजनीतिमा प्रवेश गरेका थिए ।

सन् १९९८ मा सीताराम केसरीलाई अपमानपूर्ण रुपमा पार्टी सभापतिबाट अपदस्थ गरिएको थियो । त्यसपछि १९ वर्षसम्म सोनिया गान्धी कांग्रेस नेता बनेकी थिइन् ।

२०१७ मा राहुल गान्धी सर्वसम्मत अध्यक्ष बने पनि २ वर्षपछि नै राजीनामा दिए । २०१९ मा भएको चुनावमा पराजित भएपछि उनले राजीनामा दिएका थिए ।

196
Shares
२ कार्तिक २०७९, बुधबार १८:१७