गोल्डकप आयोजकले बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर विजेता र उपविजेता टिमले पाउने पुरस्कारको राशिमा वृद्धि गरिएको जानकारी दिएको हो । यसअघि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार पाउँदै आएका थिए ।
यसपटक बढाएर ८ लाख १ हजार र ४ लाख १ हजार पुर्याइएको गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार विजेताले पाउने पुरस्कार राशिमा ३ लाख १ हजार र उपविजेताले पाउनेमा १ लाख ५१ हजार रूपैयाँ वृद्धि गरिएको छ ।पाँचौं संस्करणको गोल्डकप यही कात्तिक दोस्रो सातादेखि हुने भएको छ । लक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा कात्तिक १५ देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता डाँगीहाट युथ क्लबले आयोजना गर्ने भएको हो ।
नेपालका ७ र विदेशी ३ गरेर प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने क्लबका अध्यक्ष विक्रम वान्तवा राईले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा रोलिङ एफ सी झापा, पेम्बा युथ क्लब विराटनगर, आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग, साहारा क्लब पोखरा, सशस्त्र प्रहरी बल काठमाडौं, सहलेस युथ क्लब सिरहा र राजारानी फुटबल क्लब धनकुटा तथा भारतको आमुक्त परिवार वेष्ट बंगाल, युनाइटेड ब्रदर्श कालिङम्पोङ एवं एभिनीयर फुटबल क्लब क्यामरुनले सहभागिता जनाउने पक्का भएको छ ।प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई १५-१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई ३५ हजार रूपैयाँ पुरस्कारको व्यवस्था गरिएको राईले बताए ।
प्रत्येक खेलका म्यान अफ दी म्याचले ५ हजार रूपैयाँ नगद पुरस्कार पाउने छन् ।
प्रतियोगिताको मुख्य सहयोगीमा बेलबारी नगरपालिका र प्रायोजकमा बुद्ध एयरलगायत रहने छन् । गोल्डकप सम्पन्न गर्न ५२ लाख ६१ हजार रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । क्लबले प्रतियाेगिताबाट ६१ लाख ९० हजार आम्दानी हुने अनुमान गरेकाे छ ।
प्रतियोगिताबाट प्राप्त हुने आम्दानीवापतको रकम एकेडेमी सञ्चालन गरी खेलाडी उत्पादन र खेलकुदको विकासमा खर्च गरिने जानकारी राईले दिए ।
उनका अनुसार मोफसलमा ठूला खेल प्रतियोगिता आयोजना गर्न कठिन हुने भए पनि खेलकुदको विकास, खेलाडीलाई अवसर तथा नयाँ खेलाडी उत्पादनको उदेश्य राखेर गोल्डकप आयोजना गरिँदै आएको छ । प्रतियोगिताको चौथो संस्करणको उपाधि सशस्त्र प्रहरी बलले जितेको थियो ।