सर्लाही । सर्लाहीको बागमती नगरपालिकास्थित मिलनचोकमा रहेको एक सहकारी संस्थाको सेवा केन्द्रमा लुटपाट भएको छ ।
बागमती–१ मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रमा हतियारधारी लुटेरा समूहले बुधबार (आज) बिहान १० बजेतिर लुटपाट गरेका छन् ।
केन्द्रका प्रमुख लालबन्दी नगरपालिका–२ जुटपानी निवासी साजन कार्कीमाथि लुटेरा समुहले गोली प्रहर गरी लुटपाट गरेको प्रहरीले बताएको छ ।
बिहान १० बजेतिर आएका तीन जनाले कार्कीलाई धम्क्याएर पैसा मागेका थिए । तर प्रतिकार गरेका कार्कीलाई लुटेरा समुहले गोली प्रहार गरेकाे थियाे । घाइते कार्कीलाई उदृत गर्दै सहकारीका अध्यक्ष केशव ढकालले बताए अनुसार लुटेराहरू भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका थिए ।
कार्कीलाई चार वटा गोली लागेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । लुटेरा समूहले चलाएको गोली कार्कीको पाखुरा, तिघ्रा, कुम र कोखामा लागेको छ । गोली लागेका कार्कीलाई हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको अस्पतालका डाक्टर राजिव साहले बताए ।
लुटेरा समूहले कार्कीमाथि कार्यालय खोल्ने बित्तिकै आक्रमण गरेका थिए । सहकारीका कर्मचारी दिनेश श्रेष्ठका अनुसार कार्कीले ब्यागमा लगेको पैसा ड्रएरमा खन्याई सकेकोले लुटेरा समूहले पैसा लुट्न भने पाएनन् ।
घटनालगत्तै लुटेरा समूह दक्षिणतर्फ फरार भएको स्थानीयको भनाइ छ । उनीहरूको खोजी भइरहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
हरिवनमा मुख्य कार्यालय रहको सगुन सहकारी संस्थाले बागमतीको मिलनचोक लालबन्दी, ईश्वरपुर लगायत स्थानमा सेवा कार्यालय संचालन गरेर शेयर सदस्यहरूलाई वित्तिय सेवा प्रवाह गर्दै आइरहेको छ ।