भिडियोः राजेश गौतम/एएमजी टाइम्स

विराटनगर । कोसी राजमार्ग पश्चिम विराटनगर महानगरपालिका– ४ र ५ को सिमानामा पर्ने जामुनगाछी क्षेत्रमा राजनीतिक दलका नेताविरुद्धको आन्दोलन स्थानीयले चर्काएका छन् ।

स्थानीयले सञ्चालन गरिरहेको ‘विकासविरोधी नेता बहिष्कार अभियान’ मा प्रहरीले मंगलबार हस्तक्षेप गरेपछि आन्दोलन थप चर्किएको हो । स्थानीयले बुधबार बिहानैदेखि ढुंगा थोपरेर र पोल तेस्र्याएर सडक अवरुद्ध बनाएका छन् । अवरोधका कारण सवारीसाधन सञ्चालनमा समस्या भएको छ ।

आफूहरूकै भोटका कारण तीन दशकदेखि विभिन्न दलका नेता सत्तामा पुगे पनि विकास निर्माणमा राजमार्ग पश्चिमको क्षेत्रलाई उपेक्षा गरेको भन्दै स्थानीयले लामो समयदेखि आन्दोलन गरिरहेका हुन् । स्थानीयले २०७८ कात्तिकबाटै ‘नेता बहिष्कार’ अभियान सुरू गरेका थिए । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि आन्दोलनले निरन्तरता पायो ।

अभियानका क्रममा धुलाम्मे सडक किनारमा ‘विकासविरोधी नेता बहिष्कार गरौँ’ नारासहित ब्यानर टाँगिएको थियो । सोही ब्यानरलाई मंगलबार प्रहरीले हटाएको छ । आफूहरुको शान्तिपूर्ण आन्दोलन दबाउन नेता र मन्त्रीको निर्देशनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै स्थानीय थप आक्रोसित बनेका छन् ।

अभियानका संयोजक उत्तम दाहालले निर्वाचनको मुखमा जामुनगाछी क्षेत्रमा प्रवेश निषेध गरिएपछि राजनीतिक दलका नेताहरुले प्रहरीमार्फत बल प्रयोग गरेको बताए । ‘जनताले स्वतः स्फूर्त रुपमा गरेको अभियानमा प्रहरीले बलपूर्वक अवरोध गरेको छ’ उनले भने, ‘त्यसको विरोधमा आन्दोलन थप चर्काएका हौँ ।’

स्थानीयले विकास निर्माणबाट पछाडि पारिएको भन्दै कोसी राजमार्ग पश्चिमको क्षेत्रलाई विराटनगरको कर्णाली घोषणा गरेका छन् । नेताहरुले आफूहरुलाई भोट बैंकका रूपमा मात्रै प्रयोग गरेको र विकास निर्माणमा अवरोध गरिरहेको आरोप स्थानीयको छ । आन्दोलनका कारण जामुगाछी क्षेत्रमा नेताहरु चुनावी कार्यक्रम लिएर जान सकिरहेका छैनन् ।

जामुनगाछी विषय

मुलुक यतिबेला प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमय बनेको छ । हरेक निर्वाचनमा राजनीतिक गतिविधि र चुनावी चहलपहल तीव्र हुने जामुनगाछीमा भने स्थानीयको आन्दोलनका कारण निर्वाचन लक्षित कुनै कार्यक्रम हुन सकिरहेको छैन । स्थानीयले राजनीतिक दल र नेता बहिष्कार अभियानलाई तीव्र पार्दा उक्त क्षेत्रमा नेताहरु प्रवेश गर्न नसकेका हुन् ।

मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरुले त्यस क्षेत्रका स्थानीयलाई रुझाउने प्रयास गरिरहेका छन् । तर प्रवेशमै स्थानीयले रोक लगाएपछि राजनीतिक दलका नेताहरुले सुरक्षा निकायको सहयोग लिनुपर्ने अवस्था आएको हो ।

राजनीतिक पार्टी र विकास विरोधी नेताहरुलाई गाउँ, क्षेत्र प्रवेशमा रोक लगाइएको ब्यानरसहित स्थानीयले अभियान सुरू गरेका थिए । आन्दोलनअन्तर्गत बहिष्कारमा परेका नेता र ठेक्का लिएर पनि काम नगर्ने ठेकेदार र तिनका कम्पनीको फोटोसहितको ब्यानर बनाएर स्थानीयले सार्वजनिकस्थलमा टाँगेका थिए ।

जामुनगाछीका स्थानीयले विकास विरोधी नेताका रुपमा टाँगेको ब्यानरमा कांग्रेसका ५ र एमालेका ३ नेता छन् । ब्यानरमा कांग्रेसका डा. शेखर कोइराला, मिनेन्द्र रिजाल, महेश आचार्य, केदार कार्की र भीम पराजुली तथा एमालेका लालबाबु पण्डित, गुरु बराल र जीवन घिमिरेको तस्बिर प्रयोग गरिएको थियो । यी ८ जना नेतालाई विकास विरोधी घोषित गर्दै स्थानीयले फोटोसहितको ब्यानर बनाएर टाँगेका हुन् ।

जामुनगाछी मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा पर्छ । आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका डा. शेखर कोइराला र एमालेका लालबाबु पण्डित यस क्षेत्रबाट उम्मेदवार छन् । तर उनीहरु नै स्थानीयको बहिष्कारमा परेका छन् ।

प्रदेश १ का बहालवाला कानुनमन्त्री केदार कार्कीसँग पनि स्थानीय आक्रोसित छन् । आगामी निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ ‘ख’बाट उनले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । प्रदेशको मन्त्री भएर पनि आफ्नो क्षेत्रको विकासमा ध्यान नदिएको आरोप कार्कीमाथि छ ।

त्यसो त कार्कीले प्रदेशमै सबैभन्दा बढी विवादित मन्त्रीको छवि बनाएका छन् । आसेपासे र आफूनिकटकालाई मात्रै च्याप्ने तथा विकास निर्माणका नाममा अनियमितता गर्ने गरेको आरोप स्थानीयले उनीमाथि लगाइरहेका छन् । मन्त्री हुँदा जनभावनाविपरीतका काम गरेको आरोप लागिरहेका उनै कार्की अहिले पनि त्यही क्षेत्रबाट उम्मेदवार बनेर चुनावी मैदानमा उभिएका छन् । स्थानीयले भने उनलाई बहिष्कार गरेका छन् ।

विराटनगर महानगरका पूर्वमेयर भीम पराजुली क्षेत्र नं ४ ‘ख’ बाट प्रदेशसभा सदस्य उम्मेदवार हुन् । मेयर भएका बेला पनि राजमार्ग पश्चिमलाई बेवास्ता गरेको आरोप स्थानीयको छ । प्रदेश १ मा सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका जीवन घिमिरे सोही क्षेत्रका प्रदेशसभा उम्मेदवार हुन् । मन्त्री भएका बेला जामुनगाछीमा रहेको आयुर्वेदिक अस्पताल सार्न उनले भूमिका खेलेको गुनासो स्थानीयले गरेका छन् ।

सरकारी कार्यालयलाई पनि बेवास्ता गरिएको र नयाँ बनेका सरकारी संरचना सबै राजमार्ग पूर्वतर्फ केन्द्रित गरेको आरोप स्थानीयको छ । नेताहरुलाई आफूहरुले खाने चामल नभई विराटनगरको कर्णालीको विकास गरिदिनुस् भन्ने एक मात्र माग राखेको स्थानीय लक्ष्मी थापाले बताइन् ।

सडक निर्माणको ठेक्का लिएर काम नगर्ने ठेकेदारहरुलाई पनि नेताहरुले कारबाही नगरी संरक्षण गरेको आरोप उनीहरुको छ । सडक निर्माणको जिम्मा लिएर काम नगरेको भन्दै खुस्बु कन्स्ट्रसनका दीपक पौडेल र दृश्यन्त पौडेल तथा भूमि कन्स्ट्रक्सनका शुभम बोहराको तस्बिरसहितको ब्यानर पनि स्थानीयले टाँगेका छन् । नेतालाई रिझाएर ठेक्का लिने र पाएको काम समयमै पूरा नगर्ने ठेकेदार र निर्माण कम्पनीको नाम सार्वजनिक गरिएको स्थानीयको भनाइ छ ।

जनताको मागलाई अटेर गरी बलपूर्वक जामुनगाछी क्षेत्रमा प्रवेश गरे राजनीतिक दलका उम्मेदवार र नेताहरुलाई जनकारबाही गरिने अभियानका संयोजक दाहालले बताएका छन् । ‘हामीले असुहाउँदिलो र असम्भव माग राखेका छैनौँ,’ उनले भने, ‘लोकतन्त्रमा एक नागरिकले आफू हिँड्ने बाटो बनाइदेउ भनेर आफ्नो नेतालाई भन्न नपाउने भन्ने हुन्छ ?’

धुलाम्मे बाटोका कारण आवतजावतमा र स्थानीयको स्वास्थ्यमा गम्भीर असर परिरहँदा समेत कसैले वास्ता नगरेपछि आफूहरू बाध्य भएर सडक संघर्षमा उत्रिएको स्थानीय बताउँछन् । सम्बन्धित सबै निकायमा बारम्बार जानकारी र पत्राचार गर्दा समेत आफूहरुको समस्या समाधान नभएको अवस्थामा नेता र कार्यकर्ता जबर्जस्ती प्रवेश गरे राम्रो नहुने चेतावनी स्थानीयले दिएका छन् ।

जामुनगाछी क्षेत्रमा पर्ने हुलाकी सडकको काम रोकिँदा स्थानीयलाई झनै बढी समस्या भएको हो । समस्याबारे पटक–पकट आवाज उठाउँदा पनि सुनुवाई नभएको दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु