विराटनगर । ताप्लेजुङमा मंगलबार राति ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार मैवाखोला गाउँपालिका–४ साँघुस्थित याम्फेवा खोलानजिक दुर्घटना भएको हो । तेल्लाबुङबाट कम्साङतर्फ जाँदै गरेको ट्याक्टर मध्यरातमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा ४ जना सवार थिए । दुर्घटनामा परेर सबैको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा ट्याक्टर चालक मैवाखोला–५ काम्सङका ३१ वर्षीय पासाङ शेर्पा, उनका भाइ २४ वर्षीय फूर्वा शेर्पा, मैवाखोला–४ ओदककी २२ वर्षीया शर्मीला शेर्पा र उनकी बहिनी १७ वर्षीया लाकी शेर्पा रहेका छन् ।

चालक पासाङ ट्याक्टरका मालिकसमेत हुन् । प्रदेश १ प्रहरी प्रवक्ता एसपी नवीनराज राईका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी छ । अनुसन्धान सुरु गरिएको बताउँदै राईले घटनाको थप विवरण प्राप्त भइनसकेको उल्लेख गरे ।

ट्याक्टरमा सवार सबैको मृत्यु भएकाले दुर्घटनाको कारण खुल्न नसकेको हो । यद्यपि ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी प्रहरीले गरेको छ ।

56
Shares
२ कार्तिक २०७९, बुधबार ०८:२५