विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोसी नदी किनारमा मंगलबार राति एउटा मोटरसाइकल फेला परेको छ ।
राति ८ः३० बजेतिर भेटिएको मोटरसाइकलका चालक भने बेपत्ता छन् । बेवारिसे अवस्थामा प्रदेश १–०२–०४३ प ६६५१ नम्बरको मोटरसाइकल फेला परेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए । सप्तकोसी किनारमा चालक बिनाको मोटरसाइकल फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
राईका अनुसार प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकल इनरुवा नगरपालिका–१ का ५४ वर्षीय शंकरप्रसाद पौडेलको रहेको खुलेको छ । मोटरसाइकल भेटिएको स्थानमा सेतो रंगको सर्ट, पेन्ट, सेन्डो भेष्ट, जुत्ता र मोजा पनि फेला परेको उनले बताए ।
किनारमा मोटरसाइकल र कपडा राखेर पौडेलले भने सप्तकोसीमा हामफालेको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीयको सहयोगमा खोजी तीव्र पारिए पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।