काठमाडौं । तलबवृद्धिको माग गर्दै फ्रान्समा मंगलबार हजारौं कामदार सडकमा उत्रिएका छन् । उच्च मुद्रास्फीति र महँगीअनुसार तलब वृद्धि गर्न माग गरेका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप पनि भएको थियो ।

कालो पहिरन लगाएर सडकमा उत्रिएका हजारौं प्रदर्शनकारीहरूले प्रहरीसँगको झडपलगत्तै केही पसलका झ्यालहरू तोडिफोड गरेपछि प्रहरीले अश्रुग्यास हानेको त्यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

तोडफोडमा उत्रिएका ११ जनालाई पक्राउ गरिएको गृह मन्त्रालयले जनाएको छ । प्रहरीका अनुसार राजधानी पेरिसमा ३५ हजार सहभागी थिए भने युनियनले ७५ हजार रहेको दाबी गरेको छ ।

विभिन्न मजदुर युनियनले तलबवृद्धिको माग र प्रतिपक्षी दलहरुले सरकारविरुद्ध मंगलबार आव्हान गरेको राष्ट्रव्यापी हडतालका कारण फ्रान्सभर सार्वजनिक यातायात, विद्यालय, ऊर्जा र इन्धन प्रशोधन केन्द्रहरु प्रभावित भएका छन् ।

मजदुर युनियनहरूको राष्ट्रव्यापी हडतालका कारण क्षेत्रीय रेलहरुको संख्या करिब आधाले कटौती गरिएको थियो ।

यातायात, स्कुल, स्वास्थ्य र ऊर्जा क्षेत्रका अंशिक कर्मचारीहरुको हडतालमा सहभागिताका कारण ती सबै क्षेत्र प्रभावित भएका थिए ।

हडताल फ्रान्सका ठूला शहरहरु लियों, मार्सेई स्ट्रास्वर्ग, निस, नँत, तुलुज, मोंपलिए, बोर्दो र लिल लगायत अन्य साना शहरहरुमा पनि भएको आन्दोलनको नेत्रित्वकर्ता सिजिटी युनियनको भनाइ छ ।

अधिकांश शहरका प्रदर्शनकारीहरुले फ्रान्सेली जनताको जीवन असुरक्षा, बढ्दो महँगी, मुद्रा स्फिति र सरकारी रवैयाका कारण चक्कुको धारमा अडिएको आरोप लगाएका छन् ।

प्रदर्शनीकारीले जनताको न्यूनतम आवश्यकता पूरा गर्न पनि काम छोडेर सरकारविरुद्ध प्रदर्शनमा उत्रिनुपर्ने स्थिति लज्जास्पद भएको बताएका छन् ।

फ्रान्सको सबैभन्दा ठूलो प्रशोधन र इन्धन डिपो टोटल इनर्जीका कर्मचारीहरुको बहुमतले हडताल अगाडि बढाउने पक्षमा मतदान गरेपछि हडताल व्यापक बनेको हो ।

मंगलबार कर्मचारीहरुले आह्वान गरेको हडताललाई समर्थन गर्दै राष्ट्रपति इम्मानुएल म्याक्रोंका प्रतिपक्षी वामपन्थीहरुको गठबन्धनले पनि समर्थन गरेको थियो ।

एलाबे समूहले गरेको सर्वेक्षणअनुसार तीनमध्ये एक फ्रान्सेली नागरिक मुद्रास्फीति बढेअनुसार तलबवृद्धिको माग गर्न आगामी हप्ताहरूमा हडतालमा उत्रिन तयार हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु