विराटनगर । सुनसरी र उदयपुरमा अलगअलग घटनामा परेर मंगलबार दुई जनाको मृत्यु भएको छ ।
सुनसरीको रामधुनी नगरपालिका–५ स्थित भित्री सडकखण्डमा को ३६ प ५५५५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ३ जना सवार मोटरसाइकल आफैं अनियन्त्रित भएर राति १०ः२० बजेतिर दुर्घटना हुँदा चालक रामधुनी–५ का अनिल चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका लागि विराटनगरतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । मोटरसाइकलको पछाडि सवार २४ वर्षीय सुरज चौधरी र ३८ वर्षीय जीवन चौधरी घाइते भएका हुन् ।
दुवै जनाको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पकलीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका–६ रानी पोखरीमा डुबेर त्रियुगा–५ की ६० वर्षीया दैया परियारको मृत्यु भएको छ । गाईवस्तु चराउन गएकी परियारलाई पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा स्थानीयले दिउँसो २ः५५ बजेतिर फेला पारेका हुन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।