काठमाडाैं । नवौं राष्ट्रिय खेलकुद (नखेप्र) अन्तगर्त पौडी प्रतियोगितामा तेस्राे दिन ७ राष्ट्रिय कीर्तिमान कायम भएका छन् । यस्तै, पूर्व कीर्तिमानलाई तोड्ने क्रममा हिजाे १३ कीर्तिमान भंग भएका छन् ।

४०० मिटर पुरुष फ्रिस्टायलमा ४ कीर्तिमान, १०० मिटर बटरफ्लाईमा ३, महिला १०० मिटर बटफ्लाईमा १, पुरुष २०० मिटर ब्रेष्टस्ट्रोकमा २, महिला २०० मिटर ब्रेष्टस्ट्रोकमा १, पुरुष ५० मिटर ब्याकस्ट्रोकमा १ र ४०० मिटर फ्रिस्टायल रिलेमा १ कीर्तिमान भंग भएका छन् ।

४०० मिटिर पुरुष फ्रिस्टायलमा नासिर याह्या हुसेनको नाममा १३ औं सागमा रहेको ४ मिनेट ३३.०५ सेकेन्डकाे समयलाई आज चार खेलाडीले उछिनेका छन् । सेनाका नासिरले ४ मिनेट ८.६४ सेकेन्ड समयका साथ आफ्नो रेकर्डमा सुधार गर्दै स्वर्ण जिते ।

यस्तै, रजत पदक जितेका एनआरएनका आशिष सापकोटाले पनि नासिरको पूर्व रेकर्डलाई उछिन्दै ४ मिनेट २२.४५ सेकेन्डको समयमा दूरी पार गरे । तेस्राे स्थानमा रहेका बागमतीका ईरभिन श्रेष्ठले पनि नासिरको पूर्व रेकर्डलाई उछिन्दै ४ मिनेट २५.७४ सेकेन्ड समयका साथ कास्य जिते । चौथो स्थानमा रहेका बागमतीका सेरेन सिंहले पनि नासिरको पूर्व कीर्तिमान लाई उछिने । उनले ४ मिनेट २५.९२ सेकेन्ड समयमा दूरी पार गरेका थिए ।

बिरौटास्थित फिसटेल एकेडेमीमा भएको प्रतियोगिताको १०० मिटर बटरफ्लाईमा अनुभव सुब्बाले २५ औं खुला राष्ट्रिय पौडी च्याम्पियनसिपमा राखेको ५९.७७ सेकेन्डको समयलाई भंग गर्दै सेनाका नासिर हुसेनले ५७.८६ सेकेन्डको नयाँ कीर्तिमान सहित स्वर्ण जिते ।

दोस्राे स्थानमा रहेको एनआरएनका आशिष सापकोटाले पनि पूर्व कीर्तिमानलाई उछिन्दै ५९.६८ सेकेन्ड समयका साथ रजत प्राप्त गरे । यस्तै तेस्राे स्थानमा रहेका अनुभव सुब्बाले कास्य पदक प्राप्त गर्ने क्रममा आफ्नो पूर्व समयलाई सुधार गर्दै ५९.७३ सेकेन्ड समयमा दूरी पुरा गरे ।

महिला १०० मिटर बटरफ्लाईमा एनआरएनकी एश्ले सापकोटा डङ्गोलले गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको १ मिनेट ९.९७ सेकेन्ड समयलाई भंग गर्दै १ मिनेट ७.७४ सेकेन्ड समयका साथ स्वर्णमा आफ्नो नाम लेखाईन् ।

नेपाल पुलिसकी मेगन गुरुङ्गले रजत र बागमतीकी रोशा न्यौपानेले कास्य जितिन् ।

पुरुष २०० मिटर ब्रेष्टस्ट्रोक तर्फ एनआरएनका आशिष सापकोटाले २ मिनेट २९.६० सेकेन्डको नयाँ कीर्तिमान कायम गर्दै स्वर्ण जिते । यस विधामा यस अघि सुभम श्रेष्ठको नाममा २ मिनेट ३१.१५ सेकेन्ड समयको कीर्तिमान कायम थियो ।

दोस्राे स्थानमा रहेका प्रदेश १ का विकास कुमालले पनि पूर्व रेकर्डलाई उछिन्दै २ मिनेट ३०.७६ सेकेन्ड समयमा साथ रजत जित्दा बागमतीका सेरेन सिंहले कास्य जिते ।

महिला तर्फको यसै विधामा सेनाकी डुवाना लामाले २ मिनेट ४३.२३ सेकेन्डकाे नयाँ राष्ट्रिय रेकर्ड सहित स्वर्ण प्राप्त गरिन् । उनले बिहान भएकाे हिट चरणमा आफ्नै नाममा रहेको २ मिनेट ४४.६८ सेकेन्डको समयकाे कीर्तिमानी समयलाई भंग गर्दै २ मिनेट ४४.२८ नयाँ रेकर्ड राखेकी थिईन् । सेनाकी उपास्ती महर्जनले रजत र पुलिसकी अदिप्सा वैद्यले कास्य पदक पाए ।

पुरुषको ५० मिटर ब्याकस्ट्रोकमा सेनाका एलेक्जेण्डर शाहले २७.४६ सेकेन्डको नयाँ समयका साथ स्वर्ण हात पारे । उनले विहान भएको हिट चरणमा आफूले नै १३ औं सागमा राखेको २८.०३ सेकेन्डको समयमा सुधार गर्दै २७.५४ को नयाँ समयमा दूरी पुरा गरेका थिए ।

एपिएफका तेन्जिङ्ग नामदोल रायन गुरुङ्गले रजत र सेनाका अनुभव सुब्बाले कास्य पदक पाए ।

सोही विधाको महिला तर्फ ओलम्पियन गौरिका सिंहले स्वर्ण जितिन् । सेनाको टिमबाट खेलेकी उनले ३०.८० समयका साथ दूरी पुरा गर्दै स्वर्ण जितेकी हुन् ।

पुरुष ४०० मिटर फ्रिस्टायल रिलेमा पनि हिजाे राष्ट्रिय रेकर्ड तोडिएको छ ।

सेनाका अनुभव सुब्बा, दिलिप थापा मगर, नासिर याह्या हुसेन र एलेक्सजेण्डर शाहको समूहले ३ मिनेट ४५.५१ सेकेन्ड नयाँ समयको कीर्तिमान सहित स्वर्ण जितेका छन् । दोस्राे स्थानमा रहेको नेपाल पुलिसले पनि ३ मिनेट ४६.३७ सेकेन्ड समयका रजत हात पार्दा एपिएफले कास्यमा चित्त बुझायाे ।

१३औं सागमा एलेक्सजेण्डर शाह, अनुभव सुब्बा, सैयद हेम्जा शाह र तेन्जिन नामडोल रायन गुरुङ्गले कायम गरेको ३ मिनेट ४६.९७ सेकेन्डको रेकर्डलाई विहान हिट चरणमा पुलिसका गौरव लामा, दिपंकर अवाले, सानीसंकर बहादुर रघुराजबंशी र सुविज्ञमाान तुलाधरको जोडीले ३ मिनेट ४६.८३ सेकेन्डमो सयममा दुरी पार गरेका थिए ।

63
Shares
१ कार्तिक २०७९, मंगलवार १३:०५