विराटनगर । नेकपा एमाले मोरङका सचिव रूपेश खतिवडाले पार्टीको साधारण सदस्य समेत रहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
आसन्न निर्वाचनको उम्मेदवारी दर्ताकै समयबाट असन्तुष्टि जनाउँदै आएका उनले सचिव पदबाट यसअघि नै राजीनामा दिएका थिए ।
आजसम्म पार्टीमा निष्ठा, इमानदारिता र कर्तव्यबोधका साथमा काम गरे पनि वर्तमान अवस्थामा पार्टीको अवस्था फरक भइसकेको र आफू त्यसमा ‘एडजस्ट’ हुन नसक्ने भएकाले आफूले पार्टी परित्याग गरेको उनले जारी गरेको व्यक्तवमा लेखिएको छ ।
एमालेमा बिताएका तीन दशक लामो राजनीतिक यात्रामा साथ र सहयोग पुर्याउने सबैलाई उनले धन्यवाद ज्ञापन गरेका छन् ।
यस्ताे छ रूपेश खतिवडाको प्रेस वक्तव्यः
म गरिब किसान परिवारमा जन्मी हुर्केको मान्छे हुँ। तत्कालीन समाजका शोसक सामन्तीको शोषण उत्पीडनको बीचबाट गुज्रिँदै स्वाभिमान र वर्गीय चेतका साथमा वर्ग संघर्षको अभियानमा निष्ठापूर्वक लडाइँ लड्दै यहाँसम्म आइपुगेको मान्छे हुँ। झिनामसिना कुरासँग म त्यति मतलब गर्दिनँ।
विधि पद्धतिको बर्खिलाप पार्टीका केही नेतृत्व र अध्यक्ष ऋषि पोखरेल गएकाले त्यसबाट आउने नकारात्मक परिणामको भागिदार हुन नपरोस् भन्ने हेतुले मैले नेकपा एमाले मोरङ जिल्ला कमिटीको सचिवबाट नैतिकताका आधारमा राजीनामा गरेको हुँ।
मेरो राजीनामालाई लिएर आआफ्नो बुद्धि, विवेकअनुसार प्रत्यक्ष भेटेर, सामाजिक सञ्जाल र फोनमा प्रतिक्रिया दिनु हुने साथै मौन रहनु हुने हजारौं मेरा देशभित्र र बाहिर रहनु हुने मित्रलाई धन्यवाद प्रकट गर्छु। म सत्य छोड्दिनँ, चाहे एक्लै किन नहोउँ!
जति बेला केपी ओली पार्टीको मूल नेतृत्वमा हुनु हुन्थेन, त्यति बेला म उहाँको रोजाइको व्यक्ति थिएँ। आवश्यक पर्दा राति दुई बजे उँहा र मेरो फोनमा कुरा हुन्थ्यो, उहाँले गर्नु हुन्थ्यो। त्यो मेरी जीवनसाथी बन्दनाले आज पनि स्मरण गरिरहन्छिन्।
विराटनगर एयरपोर्ट आउनुभन्दा अगाडि फोन आउँथ्यो। र म कुनै कारणबस एयरपोर्टमा नदेखिँदा ‘खोइ हाकिम कता हो?’ भनेर फोन आउँथ्यो र सँगै लिएर हिँड्नु हुन्थ्यो।
मदेखिको आरिस र डाह त्यहीँबाट धेरैलाई थियो। यो कुरा कमरेड विनोद ढकाल र हितैसी मित्र गिरेन्द्र कार्कीलाई राम्रोसँग थाहा छ। भन्नु, नभन्नु उहाँहरूको कुरा हो। आज ‘बा’ भनेर नजिक भएकाहरू कसलाई भेट गराउने, नगराउने र गाडीमा चढाउने, नचढाउने कुरा मैले, कमरेड विनोद ढकाल र कमरेड सुमन प्याकुरेलले गर्थ्यौं।
घन्टा होइन, दुई/चार दिनको यात्रा हामी सँगै गर्थ्यौं। पूर्वाञ्चल क्षेत्रको ओली समूहको बैठकको खबर मैले गर्थेँ। एकपटक संखुवासभा बाट केपी ओली, म र राधिका शाक्य युवराज बरालको हाइलक्स गाडीमा फर्किँदै गर्दा मैले मेची-कोशी-सगरमाथाका चुनिँदा ओली समूहका साथीहरूलाई खबर गरी कोशी टप्पु वन्यजन्तु आरक्षको आर्मी क्याम्पमा बैठक आयोजना गरेका थियौं।
आज तिनै ओलीसँग शक्तिमा हुँदा केही मनुवा नजिक भएकाले दम्भ देखाइरहेका छन्। विचरा तिनीहरू!
मैले २०४७ सालदेखि बुझेर एमालेको जनवर्गीय संगठन अनेरास्ववियु दमक बहुमुखी क्याम्पसको सिफ्ट कमिटी, प्रारम्भिक कमिटी हुँदै देशको सबैभन्दा ठूलो क्याम्पस, केन्द्रीय क्याम्पस कीर्तिपुरको निर्वाचित स्ववियु सचिव र सभापतिको उम्मेदवार हुँदै अनेरास्ववियुको केन्द्रीय कमिटीमा राजेन्द्र राई, खिमलाल भट्टराई र ठाकुर गैरेको नेतृत्वमा रहेर काम गर्दै मोरङ जिल्ला कमिटीमा विनोद ढकाल, महेश रेग्मी र ऋषिकेश पोखरेलको नेतृत्वको कमिटीमा रहेर राजनैतिक-वैचारिक कामको नेतृत्व गर्दै धेरै युवा-विद्यार्थी तथा दिदीबहिनीहरूलाई पार्टीप्रति आकर्षित गरी संगठित गरेँ।
फलस्वरूप आज तीमध्येका धेरैजसो पार्टीको नेतृत्व र अवसरमा छन्। म गौरवबोध गर्छु। मैले आजसम्म पार्टीमा निष्ठा, इमानदारिता र कर्तव्यबोधका साथमा काम गरेँ। तर अब हिजोको अवस्थाको पार्टी रहेन।
म अहिलेको राजनीतिभित्र हुर्केको गलत चिन्तन, व्यवहार र शैलीभित्र ‘एडजस्ट’ हुन सकिनँ। त्यो मेरो कमजोर पक्ष हो। त्यहीँभित्र गलतका विरूद्ध पटकपटक विधिगत अन्तरसंघर्ष गर्ने कोशिस गरेँ। तर दुई/तीन जना मित्रबाहेक अरू सबै अर्ती दिनसक्ने तर गलतलाई गलत भन्न नसक्ने बाध्यतामा रहेको पाएँ।
विधि र पद्धतिको कुरासँग डराएर मैले राजीनामा पत्रमा उठाएका विषय कुनै छलफलको विषय पनि बनाइएन। विचौलिया, भ्रष्ट छवि भएकाहरूको चंगुलमा चुर्लुम्म डुबेको छ आज पार्टी र अधिकांश नेताहरू
अब त्यहाँ सिद्धान्त, विधि, विधान, पद्धति र प्रक्रिया धुमिल भएको छ। यिनबाट आश गर्नु बेकार छ। तसर्थ मैले/हामीले सकेको गर्यौं, राज्य व्यवस्था फेर्न र गणतन्त्र, संविधान ल्याउन। त्यो इतिहासले सम्झिने नै छ।
अब आर्थिक समृद्धि र राष्ट्रिय स्वाधीनताको एजेन्डाको नेतृत्व नयाँ पुस्तालाई छोडिदिनु पर्छ। मैले अब दलको कार्यकर्ता भएर होइन, एक स्वाभिमानी नागरिकको हैसियतले समाज र राष्ट्रको बाँचुन्जेल निस्वार्थ रूपमा सेवा गर्ने संकल्पसहित आजैबाट नेकपा एमालेको सबै जिम्मेवारी र पार्टी सदस्यता समेत त्याग गरेको व्यहोरा जानकारी गराउँछु।
एमालेमा व्यतीत मेरो ३२ वर्षको राजनीतिक समय, मेरो व्यक्तिगत र राजनीतिक जीवनका उतारचढाव र समकालीन राजनीतिका धेरै अनुभूति र प्रसंगहरू छन्। जुन पछि सार्वजनिक गर्ने कोशिस गर्नेछु।
मेरो यो लामो राजनीतिक अभियानमा साथ सहयोग पुर्याउनु हुने मेरो घरपरिवार, आफन्तजन, पार्टी तथा युवा-विद्यार्थी संघ/संगठनका नेता तथा कार्यकर्ता, शुभचिन्तक साथीहरूमा हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्छु।
आउँदा दिनमा पनि यहाँहरूको माया र सद्भाव पाइरहने विश्वास व्यक्त गर्छु।
रूपेश खतिवडा
विराटनगर
२०७९ असोज ३१