दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ५ प १६०४ नम्बरको मोटरसाइकल र विपरीत दिशबाट आउँदै गरेको मे ३ प ५५८० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको झापा प्रहरीका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा ५५८० नम्बरको मोटरसाइकलका चालक झापा बाह्रदशी गाउँपालिका–२ का २५ वर्षीय अनिष साउदेन र १६०४ नम्बरको मोटरसाइकलका चालक बाह्रदशी–६ का ४३ वर्षीय भोलाराज भुजेलको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका दुवै जनाको उपचारका क्रममा बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा साँझ ५ः२५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा १६०४ नम्बरको मोटरसाइकलको पछाडि सवार भोलाराजकी पत्नी ४२ वर्षीया चन्द्रकला भुजेल र उनकी छोरी ९ वर्षीया प्रशना भुजेल घाइते भएका छन् । घाइतेहरुलाई थप उपचारका लागि बिर्ता सिटी अस्पतालमा भर्ना गरिएको छ । त्यसअघि उनीहरुको पनि बी एन्ड सीमै उपचार भइरहेको थियो ।
प्रहरीका अनुसार घाइतेहरुको अवस्था पनि गम्भीर छ । दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।