विराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर १ मा सञ्चालित ‘समुदाय सुरक्षित नागरिक आवास कार्यक्रम’ बाट स्थानीय बासिन्दा पीडित बनेका छन् ।
कार्यक्रमअन्तर्गत पराल वा खरको छाना भएको घर परिवारलाई जस्तापाताको छाना लगाइदिने योजना थियो ।प्रत्येक स्थानीय तहमा रहेका पराल वा खरको छाना भएका घर परिवार नछुटने गरी शहरी विकास तथा भवन निर्माण मन्त्रालयले २०७५ तिर योजना ल्याएको थियो ।
योजनामा दुई किस्तामा ६० र ४० प्रतिशत रकम दिने भनिएको थियो । तर पहिलेका जनप्रतिनिधिले तीन किस्तामा वितरण गर्ने भने पनि लक्षित वर्गले दुई किस्ता मात्र रकम पाएको गुनासो गरेका छन् ।उक्त कार्यक्रमबाट पहिलो किस्ता सहयोग लिएका उक्त बस्तीका एकजना बासिन्दाले घर बनाउन सुरु गरे पनि पछि रकम नदिइएकाले अलपत्र परेको बताए । घर बनाउन ऋण लिनुपरेको उल्लेख गर्दै उनले कार्यक्रमबाट सहयोग पुग्ला भन्ने ठानेको तर उल्टै ऋणमा डुब्नु परेको सुनाए ।
गुनासो लिएर जाँदा कार्यालयमा कर्मचारी नभेटिने गरेको गुनासो पनि स्थानीय दलित परिवारका अगुवाको भनाइ छ ।
घर बनाउन सहयोग पाइन्छ भनेर जस्तापाता बाहेकको सबै सामान किनेको तर रकम पाउन नसकेको कतिपयले बताएका छन् ।
घरका लागि ५० हजार रुपैयाँ पाइने भएपछि बनाउन सुरु गरेको तर रकम नपाउँदा उल्टै आफैंले ऋण खोजेर दुई लाखभन्दा बढी खर्च गर्नुपरेको एकजना पीडितले बताए ।
धनपालथान गाउँपालिका वडा का अध्यक्ष खाजा हुसेन मियाका अनुसार सोमबार अनुगमन गरी मङगलबार सिफारिस गर्ने योजना छ ।
पहिलेका जनप्रतिनिधिले के कसो गरे भन्नेबारे आफूलाई जानकारी नभएको उल्लेख गर्दै उनले आफूले त्यसबारे बुझ्ने काम गरिरहेको बताए ।
झापादेखि पर्सासम्मका ११ जिल्लामा जनसंख्याको करिब ३० प्रतिशत दलित रहेको अनुमान छ ।
(प्रशिक्षार्थी)