विराटनगर । ६७औँ प्रहरी दिवस अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा सोमबार विशेष कार्यक्रम आयोजना गरियो । उक्त कार्यालयअन्तर्गतका विभिन्न जिल्लामा पनि कार्यक्रम गरिएको थियो ।

दिवसका अवसरमा अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिइएको थियो । यस अवसरमा खेलकुद, स्वास्थ्य शिविर, रक्तदान, सार्वजनिक स्थल सरसफाई, दिपावलीजस्ता कार्यक्रम आयोजना गरिएको थियो ।

प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की सहभागी थिए ।

यसैगरी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलालगायत सहभागी थिए । त्यहाँस्थित प्रहरी स्मारकमा पुष्पहार अर्पण गरिएको थियो ।

प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी दिवसका अवसरमा पठाएको शुभकामना सन्देश पढेर सुनाएका थिए ।

मन्त्री कार्कीले कामका सिलसिलामा दिवंगत भएका प्रहरीका परिवारलाई नगद तथा कदर पत्रद्वारा सम्मान गरेका थिए । नयाँ भवन निर्माणका लागि आफ्नो जग्गा निःशुल्क दिने जग्गादातालाई पनि सम्मान गरिएको थियो ।

त्यस अवसरमा प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलालाई नगद पुरस्कार र प्रहरीलाई सहयोग गर्ने संघ संस्था र स्थानीय तहलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रहरी दिवस अवसरमा आयोजित खेलका विजयीहरुलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव उमेश बस्नेतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रदेश प्रहरी श्रीमती संघकी महासचिव अजिता बाँस्तोलाले दिवंगत प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् ।

यसैबीच, यस वर्षको एक लाख राशिको आठौं ‘साधनादेवी प्रहरी पराक्रम पुरस्कार’ प्रहरी सहायक निरीक्षक भक्तबहादुर बिष्ट र हवल्दार हुमेन्द्रप्रसाद यादवलाई प्रदान गरियो ।

उक्त पुरस्कारका लागि पुरस्कार कोषका संस्थापक प्राध्यापक डा. बिक्रमप्रसाद श्रेष्ठले एक लाख रुपैयाँको चेक तथा प्रशंसापत्र प्रदान गरेका थिए । उनले दिवंगत आमा साधनादेवी श्रेष्ठका कोषका लागि रकम दिएका हुन् ।

२५ हजार रुपैयाँको बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कार वरिष्ठ हवल्दार तुलसीप्रसाद पोखरेललाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु