काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शव किस्ट अस्पतालालई हस्तान्तरण गरिएको छ । जोशीले जीवित रहँदा शरीर अस्पताललाई दिने घोषणा गरेका थिए ।

उनको पार्थिव शरीरलाई सुरक्षित राख्नका लागि नगल्ने केमिकल प्रयोग गरी प्रविधि अपनाउने किस्ट मेडिकल कलेजले जनाएको छ ।

शरीर अस्पताललाई हस्तान्तरण गरिनुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् जोशीको पार्थिव शरीरमा पुष्पगुच्छासहित श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

नागरिक समाज, सर्वसाधारणलगायतले पनि पुल्चोकमा पुगेर श्रद्धाञ्जली दिएका थिए । सरकारले संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्रिय सम्मानका साथ बिदाइ गरेको छ ।

जोशीको उपचारका क्रममा आइतवार बिहान किस्ट अस्पतालमै निधन भएको थियो । ललितपुरको बखुम्बहालमा विक्रम संवत् १९७७ साल वैशाख ३० गते जन्मिएका जोशी संस्कृतिविद् एवं साहित्यकार हुन् ।

उनी तीनपटक मदन पुरस्कार पाउने एक्लो व्यक्ति हुन् । उनको लोक संस्कृति नामक पुस्तकले २०१३ सालमा मदन पुरस्कार पाएको थियो ।

त्यस्तै नेपाल राष्ट्रिय मुद्रा नामक पुस्तकका लागि दोस्रो पटक र कर्णाली लोक संस्कृति पुस्तकका लागि तेस्रो पटक मदन पुरस्कार पाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु